पोखरा । नेकपा एमालेका नेता माधवकुमार नेपाल अब केपी शर्मा ओलीलाई हटाएर केन्द्रीय कमिटी बनाउने घोषणा गरेका छन्।
बिहीबार बिहान पोखरामा कास्की जिल्लामा आफू पक्षीय कमिटीको घोषणा गर्दै नेपालले अब चाँडै केन्द्रको पनि घोषणा गर्ने बताए । नेपालले भने, ‘अब चाँडै केन्द्रको पनि घोषणा गर्नेछौं । जिल्लामा सबै संगठित हुनुहोस् । कमिटी बैठकहरू अब नियमित गर्नुहोस् । हामी सबै ठाउँमा संगठित भएर केन्द्रमा पनि घोषणा गर्छौं ।’
नेता नेपालले जिल्ला जिल्लामा संगठित हुन पनि कार्यकर्ताहरूलाई निर्देशन दिए। उनले कमिटीका बैठकहरू नियमित गर्न पनि निर्देशन दिएका छन्। उनलाई र नेता भीम रावललाई नेकपा एमालेले स्पष्टीकरण सोधेर ६ महिनाका लागि निलम्बन गरिसकेको छ।
‘अब चाँडै केन्द्रीय कमिटी पनि घोषणा गर्दैछौँ, जिल्लामा सबै संगठित हुनुहोस्, उनले भने, ‘कमिटी बैठकहरू अब नियमित गर्नुहोस् । हामी सबै ठाउँमा संगठित भएर केन्द्रीय कमिटी पनि घोषणा गर्दैछौं।’
देशभर संगठन बनाउँछौं, चुनाव भए ओलीलाई एक्ल्याउँछौं
जिल्लासँगै प्रदेश र केन्द्रीय निकायहरु पनि बनाउने बताएका उनले आयोगमा कानुनी विषय भएकाले छुट्टै केन्द्रीय कमिटी भने नबनाउने उनले प्रष्ट पारे । बिहीबार कास्की जिल्ला कमिटी घोषणा सभालाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘देशव्यापी संगठन बनाउने अभियानमा हिँडेका छौं ।’
‘भोलि गाउँपालिकाको चुनाव भयो भने हामी दिन्छौं टिकट । प्रदेशसभाको सदस्य बनाउन हामी चयन गर्छौ, उम्मेदवार । राष्ट्रियसभा र प्रतिनिधिसभाको चुनावको टिकट पनि हामी दिन्छौं,’ उनले अघि भने, ‘घोषणा गरुन् त चुनाव, हामी अरुसँग सिटको तालमेल गर्छौं, सबैलाई मिलाएर लान्छौं ।’ यसका लागि मोहन वैद्यदेखि मोहनविक्रम सिंहसम्म सबैसँग कुराकानी भएको उनले बताए ।
८ लाखमध्ये ६ लाख कार्यकर्ता आफूहरुसँग रहेको भन्दै उनले भने, ‘हिम्मत छ भने कारबाही गरे हुन्छ ।’यद्यपि २८ फागुनका निर्णय फिर्ता लिन र २ जेठ २०७५ मा फर्किने हो भने सबै बिर्सिन तयार रहेको उनले बताए । केपी ओली पनि सुध्रिन् भनिरहेको भन्दै उनले भने, ‘केपी ओली तयार छन् ? छैनन् किनभने प्रधानमन्त्री पद जान्छ कि भने चिन्ता छ, अध्यक्ष पद जान्छ कि भन्ने चिन्ता छ ।’
जिल्ला कमिटी गठन
नेकपा एमालेबाट निलम्बित नेता नेपालले पोखरामा पनि कास्की जिल्लास्तरीय समानान्तर कमिटी बनाएका छन्। उनले त्यहीँबाट समानान्तर कमिटी गठन अभियान सुरु भएको पनि बताए।
नेपाल र नेता सुरेन्द्र पाण्डे पोखरा पुगेर कास्की जिल्लास्तरीय समानान्तर कमिटी घोषणा गरेका हुन्। उक्त समानान्तर कमिटी अध्यक्षमा धनराज आचार्य र सचिव होमबहादुर नेपाली तोकिएका छन्।
७५ सदस्यीय जिल्ला कमिटीका बाँकी सदस्यसहित समानान्तर टिम घोषणा गरिएको हो। उता एमालेको कास्की जिल्ला अध्यक्ष कृष्ण थापा रहेका छन्। कास्कीका जनप्रतिनिधि र जिल्ला कमिटीका नेताहरु एमालेमै रहेका छन्।
यसअघि नेपाल समूहले गोरखा, अर्घाखाँची र भोजपुरमा समानान्तर कमिटी बनाइसकेको छ। माधव नेपालले युवा संघ, महिला संघ र अनेरास्ववियुको पनि समानान्तर कमिटी बनाइसकेका छन्। युवा संघ काठमाडौंको बुद्धनगरमा समानान्तर कार्यालय पनि खोलिसकेको छ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्