
काठमाडौं । सहकारी ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् ।
जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुरोध गरेको थियो ।
त्यसअनुसार ब्यूरो खटिएका एक जना प्रहरी उपरीक्षक (एसपी) नेतृत्वको टोलीले उनलाई पक्राउ गरेर शुक्रबारै जिल्ला प्रहरी कार्यालय, कास्की तर्फ लगिएको छ । उनलाई दुई वटा प्रहरी भ्यानले स्कर्टिङ गरिएको छ ।
रवि पक्राउ परेपछि अहिले बनस्थली क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध नाराबाजी भइरहेको छ ।
रविले पक्राउ पर्नुअघि गरेको सम्बोधनमा पक्राउ विरुद्ध डटेर विरोध गर्न सार्वजनिक अपिल गरेका थिए ।
सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा १६ असोज २०८० पूर्वअध्यक्ष जिबी राई, उनका दाजु भूपेन्द्र राई, अध्यक्ष थानबहादुर बुढा लगायत १९ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता भएको थियो ।
जिल्ला अदालतबाट रविसहित १४ जनाको नाममा एकैपटक पक्राउ पुर्जी जारी भएको छ ।
प्रतिक्रिया दिनुहोस्