१४ असोज, काठमाडौँ । सरकारले बाढी पहिरोमा परी ज्यान गुमाएका व्यक्तिहरुको परिवारलाई जनही २/२ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
आज (सोमबार) बसेको मन्त्रीपरिषद् बैठकले कार्यविधि अनुसार उक्त राहत रकम दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार बाढी पहिरोमा बेपत्ता भएका व्यक्तिका परिवारले पनि २/२ लाख रुपैयाँ राहत पाउनेछन् । १० दिनसम्म बेपत्ता भएमा उनीहरुलाई मृतक सरह २/२ लाख रुपैयाँ दिने निर्णय भएको हो ।
साथै प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (मंगलबार) चार बजे पत्रकार सम्मेलन गरेर राहतको अरु प्याकेजहरु पनि घोषणा गर्ने निर्णय भएको छ ।
यसका साथै बैठकले राहतकोषमा १ अर्ब रकम अर्थ मन्त्रालयबाट उपलब्ध गराउने पनि निर्णय गरेको छ । त्यसबाहेक प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब राहत कोषमा जम्मा गर्ने पनि निर्णय गरेको छ ।
यस्तै सरकारले ३ दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । ३ दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने पनि बैठकले निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्