१० असोज, काठमाडौं । चीन भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को टोली भ्रमण छोट्याएर नेपाल फर्किएको छ ।
१० दिने भ्रमणका लागि भन्दै उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा शनिबार राति चीन गएको टोली सहकारी प्रकरणमा रवि लामिछाने पक्राउ पर्ने हल्लापछि बिहीवार नै नेपाल फर्किएको हो ।
आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उपसभापति वाग्लेले सांघाइ लगायतका शहरको आधुनिक प्रविधिको अवलोकन र प्राज्ञिक विचार विमर्श गरेर रास्वपा टोली फर्किएको बताए । तर बेइजिङ पुग्ने कार्यक्रम भने स्थगित गरेको उनले जानकारी दिए ।
चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा. वाग्लेको नेतृत्वमा ७ सांसद र ७ गैरसांसदसहित १४ जनाको टोली शनिबार चीन प्रस्थान गरेको थियो ।
आइतवार रविका साझेदार छविलाल जोशी पक्राउपरेपछि रवि पनि पक्राउन पर्न सक्ने देखेर रास्वपा टोली सोमबारै स्वदेश फर्किने तयारी गरेको थियो । तर, सोमवारको टिकट नपाएपछि बिहीवार बिहान मात्र टोली काठमाडौं पुगेको हो ।
अहिले छविलाल जोशीको बयान चलिरहेको र उनको बयान सकिएपछि रविलाई पनि बयानका लागि प्रहरीले हिरासतमा लिने डर रास्वपामा छ । टोली काठमाडौं फर्किएसँगै रविले अव कसरी अघि बढ्ने भन्ने विषयमा उनीहरुसँग छलफल गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्