images
images
  • जनै पूर्णिमामा किन बाधिन्छ रक्षाबन्धन वा राखी, के रहेछ धार्मिक महत्व ?

    काठमाडौँ । आज जनै पूर्णिमा हो । हिन्दु धार्मिक शास्त्र अनुसार हरेक बर्षको साउन महिनाको शुक्ल पूर्णिमा तिथिको दिन यो पर्व मनाइन्छ । हिन्दुहरुको धार्मिक तथा साँस्कृतिक पर्व जनैपूर्णिमाको अवसरमा तागाधारी (जनै लगाउने) समुदायले पुरानो जनै फेरेर नयाँ जनै धारण गर्ने चलन छ ।

    यस दिन तागाधारीहरूले वर्षभरिका लागि जनै (यज्ञोपवीत) मन्त्रिने र आफ्नो जनै फेर्ने चलन छ । साथै, यस दिन कात्यायनआदि आफ्ना शाखासूत्रका ऋषिहरूलाई खुसी पार्नका लागि कुशनिर्मित ऋषिहरूको तर्पण गरिने भएकाले यस पर्वलाई ऋषि तर्पणी पूर्णिमा पनि भनिन्छ।

    अघिल्लो दिन (श्रावण शुक्ल चतुर्दशी) हातखुट्टाका नङ काट्ने, कपाल खौरने र चोखोनितो गरी एक छाकमात्र खाएर बस्ने चलन छ। यसरी एकछाकी व्रत बसेकाहरूले पूर्णिमाका दिन बिहानै नित्यकर्म गरिसकेपछि पोखरी, तालतलैया, नदी वा कुण्डआदि जलाशयमा गई सामूहिक रूपमा संकल्प एवं मन्त्रोच्चारणपूर्वक स्नान गर्दछन्।

    स्नान गर्दा पञ्चगव्य (गाईको दूध, दही, घिउ, गौँत र गोबर), भस्म, सप्तमृत्तिका, अपामार्ग आदिको लेप शरीरमा घस्ने गर्दछन्। यसरी गरिएको स्नानलाई गणस्नान वा श्रावणी स्नान भनिन्छ । यस दिन गरिने कर्मलाई उपाकर्म पनि भन्ने गरिन्छ ।

    स्नानपछि वैदिक रुद्राभिषेक पद्धतिद्वारा जनै र रक्षाबन्धन धागो मन्त्रिने परम्परा रहेको छ। श्रावणी गर्दा सुरुमा दियो, कलश, गणेश पूजा गर्ने, रुद्राभिषेक र रुद्रीपाठ गर्ने, थालीमा अरुन्धतीसहित कुश–निर्मित सप्त ऋषि (कश्यप, भारद्वाज, गौतम, अत्रि, जमदग्नि, वशिष्ट र विश्वामित्र) को पूजा गर्ने चलन छ।

    जौ, तिल, कुशद्वारा बिधिवत ऋषि तर्पण गरी वैदिकविधि पूर्वक मंत्रित नयाँ जनै फेर्ने चलन रहेकाले यस पर्वलाई जन भाषामा ‘जनैपूर्णिमा’ भनिएको हो ।

    रक्षाबन्धनको पौराणिक प्रसङ्गहरु

    विभिन्न धार्मिक एबं पौराणिक प्रसङ्गहरुले जनै पूर्णिमा तथा रक्षाबन्धनको दिनलाई सम्झाई राखेको हुन्छ । सत्य युगमा बारम्बार युध्दमा दानव राज दानवेन्द्र महावलिसँग हारेर देवराज इन्द्र समेत खेदिएका थिए । यसरी लखेटिएका इन्द्र र समस्त देबगणको सुरक्षाका निम्ति देवगुरु वृहस्पतिले रक्षा बिधान तयार पारेर बाँधिदिएका थिए ।

    त्यही अभिमंत्रित रक्षा सुत्रका कारण नै पछि देवराज इन्द्र बिजयी भएका थिए भन्ने पौराणिक कथन भविश्यपुराणमा उल्लेख्य छ । इन्द्रायणीले तयार पारेको रेसमको धागोलाई वैदिक मन्त्रले सिद्ध गरी देवराजको हातमा बाँधिदिएपछि इन्द्रले विजय हासिल गरेको कथन यसमा छ ।

    सोही कथनबाट अभिप्रेरित भएर गुरुजनबाट रक्षाबन्धन लगाउने परम्परा हिन्दुहरुले आजसम्म मान्दै आएका छन् ।

    मेला पर्व

    आज रसुवाको गोसाँईकुण्डमा विशेष मेला लाग्छ । स्कन्ध पुराणका अनुसार समुद्र मन्थनको समयमा निस्किएको कालकूट विषले पुरै संसार ध्वस्त पार्न थालेपछि महादेवले उक्र विष सेवन गर्नु भएको थियो । संसारको रक्षा हेतु महादेवले आफ्नो कण्ठमा उक्त विष धारण गरेकाले भगवान शङ्करलाई ‘नीलकण्ठ’ भनिएको हो ।

    उनै नीलकण्ठ भगवानको गलामा विषका कारण असैह्य पीडा भएपछि महादेवले त्रिशूल प्रहार गरेर जलधारा निकालेको र त्यही जलको सेवनपछि महादेवलाई शान्ति मिलेको थियो । सोही स्थानलाई गोसाइँकुण्ड वा गोसाइथान भनेर चिनिन्छ।

    यसका साथै काठमाण्डौको पशुपतिनाथ, सुनसरीको बराहक्षेत्र, भक्तपुरको कुम्भेश्वर महादेव, नुवाकोटको दुप्चेश्वर महादेव, जनकपुरको गङ्गासागर र धनुषसागर, सोलुखुम्बुको दूधकुण्ड, खोटाङको हलेसी, जुम्लाको दानसाधु, नगरकोट लगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणी धामहरुमा मेला लाग्दै आएको छ ।

    भारतको जम्मू र कश्मीर राज्यमा पर्ने चर्चित अमरनाथ गुफाको धार्मिक यात्रा गुरु पूर्णिमादेखि सुरु भएर जनैपूर्णिमाका दिन समापन गर्ने चलन छ। यस दिन यहाँको हिमानी शिवलिङ्गले पनि आफ्नो पूर्ण आकार प्राप्त गर्छ भन्ने मान्यता छ। प्रत्येक वर्ष यही मौसममा उक्त गुफामा मेला लाग्ने गरेको छ।

    राखीको महत्व

    अर्को कथन अनुसार यमदुतले आफ्नी बहिनी यमुनासँग राखी बाँधेका थिए । राखी बाध्ने क्रममा उनले आशीर्वाद दिँदै भने, ‘जस जसले यस दिन पवित्रताको राखी बाँध्छन्, ति सबै यमदुतका सजाय र भयबाट मुक्त हुन्छन् ।’ यसराजले दिएको यही बचन अनुरुप राखी बाध्ने प्रचलन आएको भन्ने किंवदन्ती पनि रहेको छ ।

    यस दिन सबै जना जनै लगाउन तागाधारीहरुले पुरानो जनै फेरेर नयाँ जनै लगाउने गर्दछन । यस दिन सबैले ब्राह्मण पुरोहित तथा भान्जाहरुसँग रक्षा बन्धन बाध्न लगाउने चलन छ । ब्रह्माण्डहरुले गाउँ घरमा सबैतिर गई सबै मानिसलाई रक्षा बन्धन बाँधेर टीका लगाईदिने गर्दछन् ।

    जनै पूर्णिमा अर्थात रक्षा बन्धनको पावन दिनमा नेपाल लगायत भारतमा दिदीबहिनीले दाजुभाइलाई दीर्घायु र स्वथ्य एवम् सफल जीवनको कामना गरी अनेक थरिका कलात्मक राखी बाँधिदिने चलज छ । साथै उनीहरुले आफ्ना दाजु भाइबाट आफ्नो रक्षाको बचन लिने गर्दछन् ।

    नेवारको लोकोक्ति र क्वाती

    यो पबित्र दिनलाई काठमाडौँको नेवार समुदायमा गुन्हुपुन्ही भनि मनाइने चलन छ । यो पर्वको कथन भने एउटा भ्यागुतोसँग जोडिन्छ । एउटा भ्यागुताले विभिन्न किसिमका स्वर निकालेर वर्षा र खेतीको बारे कृषकलाई जानकारी दिने गर्छ । भयागुताले गठे मुंगलका दिन नरभक्षी घण्टासूरलार्इ बाटो भुलाईदिएर खाल्डोमा जाकिदिएकाले नेवार समुदायका मानिस जनै पूर्णिमा अर्थात् रक्षा बन्धनको दिन भ्यागुताको पूजा गर्ने गर्छन् । उनीहरु खेतमा गएर भ्यागुतालाई खाना खुवाउने चलन रहेको छ ।

    बिशेष गरी यस दिन नेवार समुदायमा नौ थरी गेडा गुड़ी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने र आफन्तलाई खुवाउने चलन छ । यसरी बनाएको क्वाटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र बर्षाका कारण चिसो भएको शरीरबाट सर्दी बाहिर जान्छ भन्ने विश्वास गरिन्छ ।

    नेपालभाषामा क्वातिको शाब्दिक अर्थ ‘क्वाः’ भनेको तातो परिकार र ‘ति’ भनेको झोल हो । त्यसैले ‘क्वाति’ को अर्थ तातो झोल वा झोलिलो परिकार हो । आजको दिनलाई क्वाँटी खाने दिन पनि भनिन्छ । दुई दिन अघिदेखि पानीमा भिजाई राखिएको क्वातीमा मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्ला गरी नौ थरिका गेडागुडी मिसाइएको हुन्छ ।

    वेद जयन्ती र संस्कृत दिवस

    विष्णुपुराणको अर्को प्रसंगमा माता आदिशक्तिको उपासनाबाट हयग्रीव (घोडाको जस्तो टाउको र मान्छेको जस्तो शरीर भएको) दैत्यले आफूजस्तै हयग्रीवबाट मात्र मृत्यु होस् भन्ने वर पायो । त्यसपछि उसले आफूलाई अजेय मानेर वेदादि शास्त्र र धर्मको विनाश गर्न थाल्यो।

    यस दानवबाट ब्रह्मासहित देवताहरू आजित भएपछि भगवान् विष्णुले योगमायाको शक्तिद्वारा हयग्रीवकै रूप लिएर यसै दिन सो दैत्यको विनाश गरेको भनिन्छ । तसर्थ वेदको रक्षा गरिएको हुनाले श्रावण शुक्लपूर्णिमाको दिनलाई वेदरक्षा दिवस या वेद जयन्तीका रूपमा पनि मनाइन्छ।

    वेद जयन्तीको दिनलाई वेदको भाषा भनिने संस्कृत भाषाको दिवसका रुपमा पनि मनाइन थालिएको छ । संस्कृत भाषाको वस्तुगत महत्वलाई जन–समक्ष पुर्याउन र संस्कृत साहित्यमा रहेको विशाल ज्ञानको अनुसन्धान गर्न, वौद्धिक समुदायलाई यसप्रति उत्प्रेरित गर्न एवम् विद्यार्थीलाई संस्कृत भाषाको अध्ययन गर्ने प्रेरणा दिन हरेक वर्षको जनै पूर्णिमाका दिन ‘विश्व संस्कृत दिवस’ मनाउने गरिएको छ।

    श्रावण पुर्णिमाको दिन मै वेद पाठनको शुरुवात हुने भएकाले आजको दिन नै संस्कृत दिवस भनेर मनाइन थालेको हो।

    प्रतिक्रिया दिनुहोस्

    images