images
images
  • गिरिबन्धु र टेरामक्सट लगायतका फाइल खोल्न चाहन्छौं: मनिष झा

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गिरिबन्धु टी इस्टेटलगायत सार्वजनिक भएका अनियमितता तथा भ्रष्टाचारका फाइल खोल्नुपर्ने बताएका छन् ।

    आइतबार प्रतिनिधि सभाको बैठकमा पार्टीका तर्फबाट बोल्दै रास्वपाका सहप्रवक्ता समेत रहेका सांसद मनिष झाले बालमन्दिरको जग्गा दुरुपयोग, बाँसबारीको जग्गा र टीकापुर जग्गा प्रकरणलगायतका अनियमितताका फाइल पनि खोल्ने बताए ।

    ‘बालमन्दिरको जग्गा, बाँसबारी जग्गा, टीकापुरको जग्गा, भुटानी शरणार्थी, गिरिबन्धु र टेरामक्स यो सबैको फाइल हामी खोल्न चाहन्छौं’ उनले भने । विगतमा यी विषयमा किन फाइल खोलिएन भनेर खोजी गर्दा फाइल नै नबनेको पाइएको उनले दाबी गरे ।

    रास्वपा राजनीतिमा आएको २३ महिना र संसदमा प्रवेश गरेको १७ महिना भएको स्मरण गर्दै उनले सरकारमा पनि दुई पटक गरेर १२२ दिन रहेको बताए । यो अवधिमा आफूहरु सक्दो राम्रो गर्ने प्रयासमा रहेको सहप्रवक्ता झाको जिकिर छ ।

    सहकारीको रकम अपचलनका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग राखेर संघीय संसदमा भएको अवरोधको विषय पनि उनले सम्झिए । आफूहरुले व्यक्ति केन्द्रित भएर समिति नबनाऔं भनेको तर, सबै प्रकारको छानबिनका लागि तयार रहेको आफूहरुको धारणा रहेको उनको भनाइ छ ।

    आफूहरु राजनीतिमा केही गर्न आएको दाबी गर्दै उनले रास्वपाले नै सबै बिगारेको रुपमा नलिन आग्रह गरे ।

    ‘२६ हजार ९३४ दिन जेठो पार्टीले सबै चीज बिगार्‍यो भनेर हामी राजनीतिमा आएका होइनौं’, कांग्रेसलाई लक्षित गर्दै उनले भने । विगतमा राजनीतिक दलहरुले परिवर्तनका लागि खेलेको भूमिकाको आफूहरुले सधैं प्रसंसा गर्ने तर, राजनीतिक परिवर्तनमा कपिराइट र क्रेडिट एकै पक्ष वा दलसँग नहुने उनको भनाइ छ । झाले भने, ‘यसमा बहुआयामिक सबैको योगदान रहेको हुन्छ ।’

    राजनीतिमा स्पेस भएकैले आफूहरु आएको उल्लेख गर्दै उनले केही गरौं भनेरै आएको पनि दोहोर्‍याए । उनी थप्छन्, ‘हामी अरु केही विकल्प नभएर राजनीतिमा आएका होइनौं । हामीसँग धेरै आधारहरु छन् । केही गर्न आएका छौं ।’

    प्रतिक्रिया दिनुहोस्

    images