
काठमाडौं- सहकारीको रकम अपचलनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन सुरु गरेको छ ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन, सहकारीको वचत फिर्ता लगायतका विभिन्न माग राखेर कांग्रेसले काठमाडौंको प्रदर्शनीमार्गस्थित सडकमा प्रदर्शन गरेको हो ।
प्रदर्शनी मार्गमा भेला हुनुअघि कांग्रेसका नेता कार्यकर्ताले प्रदर्शनीमार्ग नजिकका विभिन्न ठाउँबाट र्याली निकालेका थिए । कांग्रेसले सहकारीको वचत रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिनको माग राखेको छ ।
त्यस्तै गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्दा कांग्रेस नेताहरुमाथि विभिन्न आरोप लगाएको भन्दै ती विषयमा छानबिन गर्न पनि कांग्रेसले माग गरेको छ ।
कांग्रेस भात्रृ संगठनहरूको उल्लेख्य सहभागी रहेको आन्दोलनमा सहभागी हुन केन्द्रीय नेताहरूसमेत पुगेका छन्। महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक लगायतका सांसदहरू प्रदर्शनमा सहभागी हुन पुगेका छन्।
कांग्रेसले झण्डै २ महिनादेखि संसद् बैठक पनि अवरोध गर्दै आइरहेको छ। संसद् खुलाउने पहल भइरहँदा सहमति जुट्न नसकेपछि कांग्रेसले आन्दोलन घोषणा गरेको थियो।
गत बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले काठमाडौँ, भक्तपुर र ललितपुर कार्यसमितिको ब्यानरमा प्रदर्शन गर्ने निर्णय गरेको थियो।
जसका लागि १५ जना कमाण्डरहरूसमेत तोकिएको थियो।
प्रतिक्रिया दिनुहोस्