images
images
  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै

    काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ ।

    प्रतिनिधि सभाको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

    यस्तै, कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको राष्ट्रियसभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची छ । 
    त्यस्तैगरी, राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने, विषयगत समिति र संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्ने सम्भावित कार्यसूची छ ।

    आजको बैठकमा अध्यक्षले राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचनको लागि दिन तोक्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७९–८० सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images