
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले धरानवासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन् ।
अर्थ मन्त्रालयमा आइतबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँगको भेटमा मन्त्री पुनले धरानको खानेपानी समस्याबारे आफू जानकार रहेको बताए ।
‘धरान धेरै राम्रो र सुन्दर सहर हो, त्यहाँ म केही समय बसेको पनि छु,’ अर्थमन्त्री पुनले भने, ‘खानेपानी समस्याबारे जानकारी छ । यो बजेटमार्फत केही न केही समाधान खोज्ने प्रयास हुनेछ ।’
मन्त्री पुनले खानेपानी आयोजनाको माग सम्बन्धित मन्त्रालयबाट आउनुपर्ने भएकाले खानेपानी तथा सरसफाइ मन्त्रालयसँग पनि कुरा गर्न सुझाए ।
‘म पनि सम्बन्धित मन्त्रालयसँग कुरा गर्छु । यहाँले पनि उताबाट योजना माग गर्नुहोला,’ मन्त्री पुनले भने, ‘म तपाईँको अभियानमा सँगै हुने छु ।’
प्रतिक्रिया दिनुहोस्