images
images
  • फेरि एमालेसहितको वामपन्थी एकतातर्फ फर्किएका छौँ : प्रचण्ड

    प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सबै वामपन्थी शक्तिहरुलाई एकतावद्ध हुन आह्वान गरेका छन्।
    समाजवादी क्रान्ति पूरा गर्नका लागि आफू दृढ रहेको पनि उनले बताए।

    २४ औं जेलब्रेक स्मृति दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले निराश नभई क्रान्तिकारी आशावादिताको कुरा गर्न र मुलुकमा समाजवादी क्रान्ति पूरा गर्नका लागि सबै वामपन्थी शक्तिहरुलाई एकतावद्ध बनाउन पहल गर्न पनि कम्युनिष्ट क्रान्तिकारी शक्तिहरुलाई अनुरोध गरे।

    ‘अहिले म सबभन्दा खुशी छु। गर्वमा छु साथीहरु। हामी सबै फेरि नयाँ नयाँ अनुभवसहित, नयाँनयाँ विचारसहित नयाँ आन्दोलन श्रृष्टि गर्ने तर त्यो वैज्ञानिक समाजवादको निम्ति, नेपाली मौलिकतासहितको समाजवादको निम्ति भनेर हामी जुटेका छौं,’ प्रचण्डले भने, ‘त्यसकारण मेरो कमरेडहरुलाई अनुरोध के छ भने हामी सबै आ–आफ्नो ठाउँमा लडौं। लड्दालड्दै हामी जुट्छौं। जुटेपछि यो शक्ति अजय हुनेवाला छ अझै पनि। अजय हुनेवाला छ यो शक्ति।’

    त्यस अवसरमा उनले विगतमा एमालेसहितको एकतालाई जोगाउन नसकिएको स्वीकार गर्दै अब फेरि सोही दिशातर्फ फर्किएको दाबी समेत गरे।

    ‘मैले अस्ती २०७४ को चुनाव अगाडि देशभक्त र वामपन्थीहरु एक भएर चुनाव लडौं भनेर प्रस्ताव मैले नै गरेको हो। त्यसले झन्डै दुई तिहाईमा वामपन्थीलाई पुर्‍र्याइ पनि दियो। तर दुर्भाग्य जसरी हामीले माओवादी पार्टीलाई एकीकृत राख्न सकेनौं, त्यसैगरी त्यो एकतालाई पनि बचाइराख्न सकेनौं, तर आज हामी फेरि त्यतैतिर फर्कंदैछौं,’ उनले भने।

    आफू समाजवादी क्रान्ति पूरा गर्नका लागि नथाकेको पनि प्रधानमन्त्री दाहालको जिकिर थियो।

    ‘म थाक्यो कि, प्रचण्ड स्खलित भयो कि भन्ने ठान्नुभएको छ भने म यहाँहरुसँग विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु–अन्तिम समयसम्म पनि मेरो त अब झन केही पनि छैन। क्रान्तिबाहेक केही पनि छैन। त्यसकारण यो कुराको गहिर्‍याईलाई आत्मासात गरौं। एकताको निम्ति सबैले आ–आफ्नो ठाउँबाट वातावरण बनाऔं। हामी फेरि साँच्चै एउटा नयाँ इतिहास रचना गर्नसक्छौं,’ उनले भने।

    प्रतिक्रिया दिनुहोस्

    images
    images