काठमाडौं । नेकपा एमालेको कारवाहीमा पर्नुभएका नेता माधवकुमार नेपालप्रति उहाकै आधार क्षेत्र मानिएको प्रदेश–२ का नेता कार्यकर्ता असन्तुष्ट बनेका छन् । उनिहरुले आफुहरु सदैव नेकपा एमाले र सुर्य चिन्ह भएको पार्टीमा रहने बताएका छन् ।
नेता नेपाल सामु अब केही विकल्पमात्र रहेका बेला नेता कार्यकर्ताले एमालेमै रहेर बस्न सुझाव दिन थालेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग तारन्तार वार्तामा रहनु भएका नेता नेपाल नयाँ पार्टी खोल्न सक्ने बताईरहेका बेला त्यस्तोमा उहालाई सहयोग गर्न नसक्ने जवाफ दिएका हुन् ।
नेता नेपालको राम्रो संगठन मानिएको प्रदेश नम्बर–२ का जिल्लाहरूमा भेटिएका उहाँ पक्षीय स्थानीय नेता कार्यकर्ता समेत अर्को पार्टी गठन र प्रचण्डसँगको एकीकरणमा अनिच्छुक देखिएका हुन् ।
धनुषाको मिथिला नगरपालिकाका बच्चेलाल महतो नेपाल पक्षीय कार्यकर्ता हुनुहुन्छ । उहाको गाउँमा नेपाल पक्षीय कार्यकर्ताको बाहुल्य छ । तर, नेपालले फरक पार्टी गठन गरे वा दाहालसँग एकीकरणमा गए आफूहरू सँगै नजाने बताउनु हुन्छ । ‘हामी सूर्य छाप र एमाले जता हुन्छ त्यतै रहन्छौं, माधव नेपाल जानुभयो भनेर हामी उहाँको पछि लागेर जाने कुरा हुँदैन’, महतोले भन्नुभयो, ‘एमालेमा छँदा मात्र हामीले उहाँलाई साथ दिएको हो ।’
महतोका अनुसार धनुषामा नेपाल पक्षको बहुमत छ । तर, पार्टी विभाजन वा प्रचण्डसँग एकीकरण हुँदा सबैले उहालाई साथ नदिने उहाँको भनाई छ । सर्लाही, महोत्तरी, रौतहट, बारा र पर्सामा भेटिएका एमालेका तर्फबाट स्थानीय तहमा वडाबाट निर्वाचित जनप्रतिनिधिको विचार पनि यस्तै रहेको थियो ।
वीरगञ्जका नेपाल पक्षीय नेता अरविन्द सिंह पनि पार्टी विभाजनको अवस्थामा उहालाई साथ दिनेको संख्या एकदमै कम हुने स्वीकार गर्नुहुन्छ । ‘मान्छेमा एमाले र सूर्यको प्रभाव छ, त्यसैले अहिले देखिएका कार्यकर्ता सबै लाग्छन् भन्ने छैन । त्यस्तो अवस्थामा हामीले पनि सोच्नुपर्छ ।’


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्