२६ बैशाख २०७८, आईतवार   |  May 9, 2021
advertisement of bishwo khabr
Please follow and like us:
fb-share-icon0
Tweet 20

Please follow and like us:
fb-share-icon0
Tweet 20

छटपटाउँदा बिरामी बाहिरै, शव भने तीन दिनसम्म बेडमै

काठमाडौं । सेती कोरोना विशेष अस्पताल धनगढीमा उपचार गराइरहेका कञ्चनपुरका ६२ वर्षीय एक पुरुषको बिहीबार बिहान निधन भयो । कुरुवा बसेका श्रीमती र छोरी आइसियू कक्षमा रुन थाले ।

उनीहरू शान्त हुन पाएका थिएनन्, दिउँसो शोकाकुल दिदीबहिनी आएर रुन थाले । अर्को दिन अर्थात् शुक्रबार टाढाका आफन्त आएपछि फेरि रुवाबासी भयो । शोकसन्तप्त आफन्त आउने, वेदना पोख्ने र जाने तीन दिनसम्म चहिरह्यो । बिहीबार मृत्यु भए पनि शनिबारसम्म शव आइसियू बेडमै थियो ।

मृत्यु भइसकेपछि शव किन उठेको छैन रु छिमेकी बेडका बिरामीका कुरुवाले सोध्दा अस्पताल प्रशासनले भन्यो, ‘मृतकको छोरा दिल्लीमा छन्, उता पनि लकडाउन भएकाले आउन समस्या भएको छ, छोरो आउनासाथ बेडबाट निकालिन्छ ।’ शनिबार छोरा आएपछि मात्र अस्पताल र सेनाको समन्वयमा शव व्यवस्थापन भयो ।

पल्लो बेडमा अन्तिम सास लिइरहेको बिरामीको मृत्यु भयो, आफन्तहरू पालैपालो आएर रोइरहेका छन् । वल्लोपल्लो बेडमा भएका बिरामी यो सबै हेर्न बाध्य छन् । यसले उनीहरूलाई मनोवैज्ञानिक रूपमा कस्तो प्रभाव पार्‍यो रु त्यो त छँदै छ । तर, तीन दिनसम्म आइसियू बेडमा रहँदा सिकिस्त बिरामीले भने बेड पाइरहेका छैनन्, बेडमा पुग्न नपाई उनीहरूको मृत्यु भइरहेको छ । शव उठाउने विषयमा स्पष्ट नीति नबन्दा अन्य धेरै अस्पतालमा शव बेडमा छन्, बिरामी बाहिर छन् ।

भेरी कोरोना विशेष अस्पताल नेपालगन्जमा उपचाररत सल्यान बागचौर नगरपालिका– १२ का ५२ वर्षीय पुरुषको आइतबार बिहान ११ः५५ बजे ज्यान गयो । चिकित्सक र स्वास्थ्यकर्मीलाई त्यसको जानकारी भए पनि शव व्यवस्थापनका लागि आएनन् । बेलुकी ६ बजेसम्म उनको शव बेडमै थियो । आफ्नै अगाडि छेउको बिरामीले ज्यान गुमाएपछि पल्लो बेडमा उपचाररत बर्दियाको गुलरिया नगरपालिका– २ खैरापुरका निर्मल बुढाथोकी हतास बने । जिउ फतक्क गले जस्तो भयो । शरीर लर्‍याकलुरुक भयो । सास फुल्यो । उनले पल्लो बेडको शवतर्फ हेर्न नै सकेनन् ।

‘आफ्नै अगाडिको बिरामीले मृत्युवरण गरेको देखेर छटपटी भयो । आफूलाई पनि त्यस्तै हुने हो कि भनेर मन पोल्यो । त्यता हेर्न नसकेर अन्तै मुख फर्काएर पल्टिएँ,’ बुढाथोकीले भने, ‘बोल्दाबोल्दै सास गएको देखेर मन निकै व्याकुल हुन्छ ।’ उनले आफ्नै आँखाअगाडि धेरै बिरामीले ज्यान गुमाएको देखेका छन् ।

बिरामी आफन्तको कुरुवा बसेका गुलरिया नगरपालिका– २ का दिनेश पौडेलले आइसोलेसन कक्षबाट शव उठाइदिन अस्पताल प्रशासन र स्वास्थ्यकर्मीसँग धेरैपटक आग्रह गरे । तर, कसैले सुनेन । बेलुकी ६ बजेपछि मात्रै शव बाहिर निकालियो । ‘दिनभर शव बेडमै राखिरहँदा अन्य बिरामी र कुरुवालाई ठूलो तनाव हुने गरेको पौडेलले बताए । भन्छन्, ‘हाम्रो बिरामी रहेको बेडनजिकै भएकाले हामीलाई दिनभर तनाव भयो । आफ्नै आँखाअगाडि मरेको बिरामीको शव दिनभर हेरेर बस्नुपर्दा बिरामीलाई झन् कस्तो भयो होला रु तपाईं आफै सोच्नुन् ।’

कोरोनाको ‘हट स्पट’ नेपालगन्जमा लामो समयसम्म शव व्यवस्थापन नहुँदा अन्य बिरामी र कुरुवाले मानसिक तनाव झेल्नुपर्ने मात्र होइन, बेडका लागि पालो कुरिरहेका अन्य बिरामी पनि समयमा उपचार पाउनबाट वञ्चित भइरहेका छन् । आइतबार मृत्यु भएका सल्यानका पुरुषको शव समयमा नउठाउँदा दिनभर बेड खाली नभएको कुरुवा पौडेलले बताए । ‘दिनभर शव नउठाउँदा अक्सिजन दिनुपर्ने बिरामी पनि बाहिर बसेर पालो कुरिरहेका थिए । शव उठ्नासाथ बिरामीले ठाउँ पाए । नयाँ बिरामी थपिए,’ उनले भने ।

अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका– १० की ४२ वर्षीया महिलाको पनि आइतबार दिउँसो ४ बजेतिर मृत्यु भयो । उनको शव पनि दुई घन्टापछि मात्रै वार्डबाट बाहिर निकालियो । शव बाहिर निकाल्ने प्रतीक्षामा आफन्तहरू अस्पतालको वार्ड बाहिर कुरिरहेका देखिन्थे ।

अस्पतालको आइसियू र भेन्टिलेटरमा मृत्यु भएका बिरामीको शव लामो समयसम्म त्यहीं राखिने गरेको बर्दियाकी बिरामी कुरुवा सीता थापाले बताइन् । शव छिटो नउठाउँदा अन्य बिरामीले पालो नपाउने गरेको उनको भनाइ छ । ‘मृत्यु भएका बिरामीको शव नउठाउँदा सिकिस्त बिरामीले समेत पालो कुर्नुपर्ने बाध्यता छ । पालो कुर्दाकुर्दै कतिपय बिरामीले ज्यान गुमाउनुपरेको छ,’ उनले भनिन् ।

कोरोना संक्रमितको शव व्यवस्थापन गर्न कठिनाइ हुने भएकाले आफन्तहरू पनि टाढिने गरेका छन् । शव बुझ्न आफन्त नआएकै कारण आइतबार मृत्यु भएका बिरामीको शव रातभर अस्पतालको ग्यालेरीछेउमै नजिकै राखिएका थिए । ‘परिवारका सदस्य बाहिरबाट आउनुपर्ने भएकाले शव रातभर अस्पतालमै राख्ने भएका छौँ,’ मृतकका आफन्त प्रकाश कक्षपतिले भने, ‘यो हाम्रो मात्र होइन, सबैको बाध्यता हो ।’

समयमा शव व्यवस्थापन नहुँदा चिकित्सक र स्टाफ नर्सहरूलाई पनि तनाव हुने गरेको छ । बिरामीको उपचार गरिरहेका वेला शव देखेपछि मस्तिष्क उतै तानिने गरेको अस्पतालको वार्डमा भेटिएकी एक स्टाफ नर्सले बताइन् । ‘हाम्रो मन ढुंगा त होइन । आफैले उपचार गरिरहेको बिरामी मरेपछि हामीलाई पनि नमज्जा लाग्छ । मन रुन्छ । एउटै शव लामो समयसम्म देख्दा झनै निराशा पैदा हुन्छ,’ ती स्टाफ नर्सले भनिन् ।

कोरोना जित्न बिरामीको आत्मबल दरिलो हुनुपर्ने बताउँदै ती नर्सले परिवार र उपचारमा संलग्न चिकित्सकको हौसला पनि महत्वपूर्ण भएको बताइन् । ‘शव देखेपछि बिरामीको आत्मबल घट्न गई रोगसँग लड्ने शक्ति कमजोर हुने गर्छ । बिरामीको मनोबल बढाउन शव व्यवस्थापनमा अस्पताल प्रशासनले ध्यान पु¥याउनु पर्छ,’ उनले भनिन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। प्रकाशबहादुर थापाले भने मृत्यु भएको प्रमाणित गर्न र शव व्यवस्थापनका लागि सेना र परिवारका सदस्यलाई बुझाउन समय लाग्ने गरेको बताए । कहिलेकाहीं परिवारका सदस्य समयमा नआउँदा पनि व्यवस्थापनमा ढिलाइ हुने गरेको उनको भनाइ छ । ‘जतिसक्दो छिटो शव व्यवस्थापन गर्न अस्पताल तत्पर हुन्छ, तर कोरोनाका बिरामीका आफन्त समयमा नआउने र सेनाको शव व्यवस्थापन टोलीले नभ्याउने गरेका कारण केही ढिला हुने गरेको छ,’ डा। थापाले भने ।

घन्टौं शव नउठाउँदा आफै पनि मरिन्छ कि भन्ने डर लाग्थ्यो

सुर्खेत–सञ्चारकर्मी नगेन्द्र उपाध्याय केही दिनअघि रुघाखोकी बढ्दै गएर सास फेर्न असहज भएपछि कर्णाली कोभिड विशेष अस्पताल भर्ना भए । शरीरमा अक्सिजनको मात्रा कम देखियो, त्यसैले अक्सिजन दिएर उनको उपचार सुरु भयो । शरीरमा अक्सिजनको आवश्यकता त पूरा हुँदै थियो, तर वार्डभित्रका दृश्यले मानसिक रूपमा भने उनलाई गलाउँदै लग्यो ।

सँगै अस्पताल आएका सामान्य देखिने एक संक्रमितको स्वास्थ्य एकैपटक बिग्रियो । अक्सिजन दिँदादिँदै उनको ज्यान गयो । आफू बसेकै वार्डमा अन्य चार संक्रमितले पनि प्राण त्यागे । एकातिर यो डर थियो अर्कोतिर मृत्यु भएपछि घन्टौँ शव नउठाउँदा मनोवैज्ञानिक रूपमा उनी निकै कमजोर बने ।

अहिले पूर्ण स्वस्थ भइसकेका उपाध्यायले नयाँ पत्रिकासँग भने, ‘आफ्नै आसपास धमाधम मान्छे मरेको देखियो । १२–१४ घन्टासम्म तिनका शव बेडमै राखिएका हुन्थे । ती शव देखेर म पनि मर्छु कि जस्तो लाग्थ्यो । तिनले त हारे, म पनि हार्ने हुँ कि भन्ने डर पैदा हुन्थ्यो, मनोबल गिथ्र्यो । तर, जसोतसो मैले हिम्मत हारिनँ ।’

तत्कालै शव व्यवस्थापन नहुँदा गम्भीर अवस्थाका संक्रमितहरूको आत्मबल टुट्ने गरेको अनुभव उनले सुनाए । सकेसम्म हरेक संक्रमितलाई एक–अर्काले नदेख्ने गरी पर्दाले छेकबार लगाएर उपचारको व्यवस्था मिलाए संक्रमितको मृत्यु भइहाले पनि अर्को बिरामीले थाहा नपाउने हुँदा मनोवैज्ञानिक असर पर्नबाट जोगिन सक्ने उनले सुनाए ।

कर्णाली पनि यतिवेला संक्रमणको दोस्रो लहरको कहर झेलिरहेको छ । पछिल्ला दिन दैनिक चारभन्दा बढीको ज्यान गइरहेको छ । सक्रिय लक्षणसहितका संक्रमितको संख्या पनि निकै बढिरहेकाले उपचारका लागि अक्सिजन र आइसियू बेडको अभाव हुन थालेको छ । यस्तोमा समयमै शव व्यवस्थापन नहुँदा गम्भीर बिरामीको स्वास्थ्य थप जोखिममा पर्न थालेको छ ।

कर्णाली प्रदेश अस्पतालका फोकलपर्सन डा। केएन पौडेलले विपत् व्यवस्थापन समितिको निर्णयलगायतका कारणले मृतकको शव उठाउन १२ घन्टाजति लाग्ने गरेको बताए । ‘दिउँसो मृत्यु भएकाहरूको हकमा अलि चाँडै शव उठाउने गरिन्छ,’ उनले भने, ‘बेलुका पाँच बजेपछि मृत्यु भएमा समय लाग्ने गरेको छ ।’

यहाँ पनि शव व्यवस्थापनको काम नेपाली सेनाले गर्दै आएको छ । ‘हरेक संक्रमितको मृत्युको खबर अस्पतालले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउँछ । त्यहाँबाट नेपाली सेनालाई खबर हुने भएकाले दिउँसो मृत्यु भएकाहरूको शव अलि चाँडो उठ्ने गरेको छ,’ डा। पौडेलले नयाँ पत्रिकासँग भने, ‘बेलुका मृत्यु भएको अवस्थामा भने प्रोटोकल फलो गर्दै जाँदा ढिला कार्यान्वयन हुने हुँदा अलि लामो समयसम्म शव बेडमै रहन्छ ।’

शव व्यवस्थापन चाँडो नहुँदा उपचाररत गम्भीर बिरामीको मनोबलमा असर पर्ने उनले पनि स्विकारे । कर्णाली प्रदेश अस्पतालमा गम्भीर अवस्थाका बिरामीले बेड नपाएर बस्नुपर्ने समस्या नआइसकेकाले समयमा शव व्यवस्थापन नहुँदा हुने दोस्रो समस्या भने हाल यहाँ नरहेको पौडेलले बताए । ‘बेड नपाउने अवस्था भएको भए, समयमै शव व्यवस्थापन नहुँदा गम्भीर बिरामीको स्वास्थ्य उपचारमा ठूलो समस्या हुने थियो, हाललाई त्यो समस्या देखिएको छैन । तर, महामारी ज्यादै तीव्र गतिमा बढिरहेकाले केही दिनमै त्यस्तो समस्या भोग्नुनपर्ला भन्न सकिँदैन,’ उनले भने ।

बिरामीको उपचारमा खटिरहेका मनोचिकित्सक डा। सुशील समदर्शीले कोरोना संक्रमणका जटिल तथा मध्यम खालका बिरामी एउटै ठाउँमा राख्दासमेत मनोवैज्ञानिक त्रास निम्तिने गरेको बताए । जटिल संक्रमितको मृत्यु हुँदाको अवस्थामा त नजिकै रहेका अन्य बिरामीमा ठूलै मनोवैज्ञानिक असर पर्ने उनको भनाइ छ । ‘खासमा उच्च, मध्यम र न्यून जोखिम भएका संक्रमितलाई छुट्टाछुट्टै ठाउँमा राख्नुपर्ने हो, तर नेपालमा अहिले त्यस्तो सम्भव देखिएको छैन,’ उनले भने, ‘सबै बिरामी एकै ठाउँमा राख्दा एकको स्वास्थ्यमा हुने उतार–चढावले अर्को बिरामीलाई स्वतः मनोवैज्ञानिक रूपमा असर पारेको छ ।’

चार घन्टापछि निकालियो मृतकको शव
भैरहवा–गत साता बुटवल उपमहानगरपालिका निवासी ४६ वर्षीया एक शिक्षिकाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा कोरोना उपचारको क्रममा मृत्यु भयो । दुई दिनदेखि ‘भेन्टिलेटर सपोर्ट’मा रहेकी उनको राति पौने ९ बजेतिर ज्यान गएको थियो । उनको मृत्यु भएपछि सो वार्डमा उपचार गराइरहेका अन्य २४ बिरामी थप आत्तिए । ती महिलाको शव त्यहाँबाट हटाउन चार घन्टा लाग्यो ।

यो एउटा प्रतिनिधिमूलक घटना हो । यो अवस्था मेडिकल कलेजमा मात्र नभएर रुपन्देहीका दुईवटा सरकारी कोभिड अस्पताल र निजी अस्पतालमा पनि छ । रुपन्देहीमा १९ भेन्टिलेटर र ३७ वटा आइसियू बेड छन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका फोकलपर्सन केदारनाथ शाहका अनुसार नयाँ संक्रमितको संख्या दिनदिनै बढिरहेको छ, समयमा शव व्यवस्थापन हुन नसके आगामी दिन बिरामीले बेड नपाउने समस्या टड्कारो देखिनेछ । जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले एकै दिन धेरै मृत्यु हुँदा व्यवस्थापनमा समस्या बढी हुने गरेको बताए ।

एउटा शव व्यवस्थापन गर्न १० घन्टा

पोखरा–गण्डकी मेडिकल कलेजको आइसियूमा उपचाररत पर्वतका एक संक्रमितको शनिबार बिहान ३ बजे आइसियूमा ज्यान गुम्यो । अस्पतालले शव उठाउन सेनालाई खबर ग¥यो । तर, सेनाको टोली बिहान ९ बजे मात्रै आयो । आफन्तलाई दिउँसो १२ बजेसम्ममा अन्त्येष्टिस्थल पोखरा– ३३ कोत्रे पुग्न भन्दै शव लिएर गएको सेनाको टोली भने साँझ ४ बजेसम्म पनि अन्त्येष्टिस्थल पुगेन ।

पानीमा भिज्दै शवको प्रतीक्षा गरिरहेका आफन्तले अति भएपछि कास्कीका सिडिओ थानेश्वर गौतमलार्ई फोन गरे । उनले ‘मणिपाल शिक्षण अस्पतालमा ज्यान गुमाएका संक्रमितको शव व्यवस्थापन गर्दा ढिला भएको र केहीबेरमा सेनाको टोली शव ल्याएर आइपुग्ने’ जानकारी दिए । साँझ ५ बजेतिर मात्रै सेनाको टोली आइपुग्यो । सेनाले शव बुझेको आठ घन्टा र बिरामीको ज्यान गुमेको १५ घन्टापछि बल्ल अन्त्येष्टि गरियो ।

यो प्रतिनिधि घटना मात्रै हो । कोरोना संक्रमितको शव व्यवस्थापनमा घन्टौं लाग्ने गरेको छ । जसको मानसिक असर परिवारको सदस्य, आफन्त र अस्पतालमा उपचाररत अन्य बिरामीमा पर्ने गरेको छ ।

वरिष्ठ मनोरोग विशेषज्ञ डा। निर्मल लामिछानेका अनुसार आफूजस्तै बिरामीको मृत्यु भएको आँखैअगाडि देख्दा र लामो समयसम्म शवसँगै रहनुपर्दा बिरामीको मनोबल खस्किन्छ । ‘छिमेकमा कोही डेथ भयो, बाटोमा शव लिएर हिँडेको देख्यो भने मन अमिलो हुने मानवीय स्वभाव हो,’ उनले भने, ‘अझ आफ्नैअगाडि आफूजस्तै बिरामीको ज्यान गुमेर १०–१२ घन्टासम्म शव रहने अवस्था भयो भने त्यो असाध्यै पीडादायक क्षण हो । मेरो हालत पनि त्यस्तै हुन्छ भन्ने बिरामीमा पर्छ । यस्तो अवस्था तुरुन्त अन्त्य गर्नुपर्छ ।’ यसबाट मुक्ति पाउन प्रत्येक अस्पतालले कोरोना संक्रमितहरूका लागि पनि छुट्टै शव राख्ने स्थल निर्माण गर्नुपर्ने देखियो । यसमा सम्बन्धित निकायले ध्यान दिनुपर्छ,’ उनले भने ।

कास्कीका सिडिओ गौतम एउटा शव व्यवस्थापन गर्न सामान्यतया १० घन्टाजति लाग्ने बताउँछन् । कतिपय सेनाको टोली आउन ढिलाइ हुँदा त्योभन्दा पनि बढी समय लाग्ने गरेको छ । आइतबार मात्रै कास्कीमा आठ संक्रमितको मृत्यु भएको छ ।

कास्कीमा मृत्यु भएका संक्रमितको शव सेनाको तीन सदस्यीय टोलीले व्यवस्थापन गर्ने गरेको छ । मृत्यु हुने धेरै र व्यवस्थापन गर्ने टोली सानो हुँदा समय लाग्ने गरेको सिडिओ गौतमले बताए । ‘तीनजनाको टोली छ । चाप धेरै छ । सबै प्रोटोकल पूरा गर्नुपर्‍यो । अरू वेला पनि पिपिईलगायतका इक्युपमेन्ट लगाएर बसिरहन मिलेन । मृत्यु संस्कारमा प्रयोग हुने सामान्य कुराहरूको जोहोसमेत सोही टोलीले गर्ने हुँदा समय लाग्ने गरेको छ,’ उनले भने । सोमबारदेखि भने मृत्यु हुने कास्कीबाहिर घर भएकालाई परिवारको जिम्मा लगाउन थालिएको छ ।

चरक मेमोरियल अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले मृत्यु भएको तीनदेखि १२ घन्टापछि बल्ल सेनाको टोली शव बुझ्न आउने गरेको बताए । अस्पतालले भने बिरामीको ज्यान गुम्नासाथ सेनाको शव व्यवस्थापन टोलीलाई खबर गर्ने गरेको उनको भनाइ छ । ‘कुनै बिरामीको ज्यान गयो भने हामी छिटोभन्दा छिटो शव उठोस् भन्ने सोच्छौँ । त्यहीअनुसार खबर पनि हुन्छ । तर, सेनाको टोली आइपुग्न कम्तीमा तीनदेखि १२ घन्टासम्म लाग्ने गरेको छ । बेडबाट शव उठाउने काम सेनाले नै गर्छ,’ उनले भने ।

गण्डकी मेडिकल कलेजका सुपरिटेन्डेन्ट डा। टुमाया घलेले आफ्नो अस्पतालमा आइसियूमा रहेको बिरामीले अर्कोलाई देख्न नपाउने व्यवस्था गरिएको बताइन् । ‘तर, शव छिटो निकालियो भने त्यस ठाउँमा अर्को संक्रमितको उपचार हुने विषयमा भने सबैले संवेदनशील हुनुपर्छ,’ उनले भनिन् ।

अस्पतालले छिटो शव निकालिदिन र आफन्तले छिटो अन्त्येष्टि गर्न दबाब दिने गरेको सिडिओ गौतमले सुनाए । ‘अस्पताललाई छिटो शव निकालिदिए हुन्थ्यो भन्ने हुन्छ । आफन्तलाई पनि छिटो दाहसंस्कार गरिदिए हुन्थ्यो भन्ने हुन्छ । एउटै शव व्यवस्थापन गर्न करिब १० घन्टा लाग्ने गरेको छ । चाहेर पनि छिटो गर्न नसकिँदा दबाब धेरै छ,’ उनले भने ।

अब शवलाई प्रोटोकल पूरा गरेर छिटो आफन्तको जिम्मा लगाउने विषयमा छलफल भइरहेको गौतमले बताए । ‘कसरी छिटो अन्त्येष्टि गराउन सकिन्छ र सहज हुन्छ भन्ने विषयमा छलफल भइरहेको छ । सकेसम्म प्रोटोकल पुर्‍याएर आफन्तको जिम्मा लगाउने भन्ने विषयमा पनि कुरा भइरहेका छन्,’ उनले भने, ‘माथिको निर्देशन र यहाँको अवस्था हेरेर पक्कै केही निकास निस्केला ।’

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोदबिन्दु शर्माले अस्पतालबाट छिटोभन्दा छिटो शव ननिकाल्दा छेउका अन्य बिरामीमा पर्ने मनोवैज्ञानिक प्रभावबारे अहिलेसम्म धेरै नसोचिएको बताए । ‘यो गम्भीर विषय उठ्यो । हामीले यो ढंगले सोचेका थिएनौँ । अब यो विषयमा हामी छिट्टै निर्णय गर्छौँ,’ उनले भने ।

साँझमा मृत्यु भएको व्यक्तिको शव भोलिपल्ट मात्र निकालिन्छ

भरतपुर–भरतपुर अस्पतालको कोभिड आइसियूका मेडिकल अफिसर दीपक शाहले दोस्रो कोभिड संक्रमणको यो समयमा आफ्नै आँखाअघि तीनजना कोरोना संक्रमितको मृत्यु देखे । तर, ती शव तत्कालै व्यवस्थापन हुन सकेनन् । उनले भने, ‘कारण थियो, अन्य बिरामीको शवझैं निकाल्न र परिवारलाई जिम्मा दिन नमिल्ने प्रावधान ।’

उनले जिल्ला प्रहरी कार्यालयमार्फत मृत्युको जानकारी गराएपछि नेपाली सेनाको टोलीलाई खबर हुने र सेनाको टोलीले नेपाल सरकारको कार्यविधिअनुसार शव निकाल्ने हुँदा समय लाग्ने गरेको बताए । आइसियूमै कार्यरत नर्स सरिता भण्डारीले भनिन् ‘आइसियूबाट एउटा शव निकाल्न दुई घन्टासम्म लाग्ने गरेको छ । साँझ बिरामी मरेको छ भने त कहिलेकाहीं भोलिपल्ट बिहान मात्र शव निकाल्नुपर्ने हुन्छ । मृतकको परिवार सम्पर्कमा आएनन् भने थप केही समय राख्नुपर्ने बाध्यता छ ।’

जिल्लामा संक्रमितको संख्या बढेसँगै आइसियू समेत थप्न थालिएको छ । त्यसैले एउटा बेडबाट अर्को बेडको दूरी धेरै टाढा छैन । उनले भनिन्, ‘नजिकको अर्को बिरामीले मेरोछेउमा लास छ भनेर सहजै थाहा पाउन सक्छ । हामी सकेसम्म पर्दाको प्रयोग गरेर छोप्ने गर्छौँ, तैपनि अरू बिरामीलाई थाहा हुन्छ, त्यसको असर स्वाभाविक रूपमा पर्छ ।’

मेडिकल अफिसर शाहले आफ्नै छेउमा शव देख्दा उपचाररत बिरामीलाई मानसिक रूपमा गाह्रो हुने गरेको बताए । हामीलाई त मृतकको शव देख्दा शरीरमा असहज हुन्छ, गाह्रो भएको अनुभूति हुन्छ भने छेउमा रहेका बिरामीलाई मृत्यु देख्दा प्रभाव नपर्ने भन्ने हुँदैन,’ उनले भने, ‘थप गाह्रो भएको असहज भाव देखियो भने हामी बिरामीहरूलाई परामर्श पनि दिन्छौँ ।’

भरतपुर अस्पताल कोभिड– १९ क्लिनिकका सहायक कोअर्डिनेटर कल्याण सापकोटाले सकेसम्म वैकल्पिक उपायका रूपमा कटन र पर्दा राखेर शव गोप्य राख्न प्रयास गर्ने गरेको बताए । छेउमा शव देख्दा आत्मबल घट्ने, बिरामीलाई म पनि बाँच्दिनँ कि भन्ने लाग्न सक्छ,’ डा। सापकोटाले भने, ‘त्यसैले हामी सकेसम्म वैकल्पिक उपाय अपनाउँछौँ ।’

नारायणी अस्पतालबाट शव निकाल्न चार घन्टा

वीरगन्ज–वीरगन्ज महानगरपालिका– ८ गहवाकी ५० वर्षीया एक महिला कोभिडको संक्रमणपछि उपचारका लागि वैशाख पहिलो साता नारायणी अस्पताल भर्ना भइन् । अस्पतालमा पाँच दिन रहँदा उनी बसेको वार्डमा पाँच अन्य संक्रमितले ज्यान गुमाए । ‘जबजब संक्रमितको मृत्यु हुन्थ्यो, मेरो मनमा बाँच्ने आशा कम हुन्थ्यो,’ अहिले घरमै आराम गरिरहेकी ती महिलाले भनिन्, ‘हामी कोही पनि बाँच्दैनाँै होला भन्ने लाग्थ्यो ।’

पर्साकै छिपहरमाई गाउँपालिका– २ चेरगाँहाका २८ वर्षीय एम्बुलेन्सचालकलाई २० दिनअघि कोरोना संक्रमण पुष्टि भयो । उनी पनि नारायणी अस्पताल भर्ना भए । १२ दिनको बसाइमा उनले कोरोनालाई त जिते, तर पटक–पटक मर्ने हुँ कि भन्ने लागिरह्यो ।

कारण थियो, छेउकै बेडमा उपचार गराइरहेका बिरामी मृत्यु भएपछि पनि लामो समयसम्म शव व्यवस्थापन नहुनु । ‘१२ दिनको बसाइमा मैले चारजनाको शव देखें । ती शव लामो समयसम्म बेडमै थिए । तिनलाई हेर्‍यो, आफू पनि त्यस्तै हुने त होला भन्ने मनमा लाग्थ्यो, डर पैदा हुन्थ्यो । तर, कसो–कसो बाँचेर फर्किएँ,’ उनले भने ।

नारायणी अस्पतालमा उपचारका क्रममा कोरोनाका बिरामीको मृत्यु भए तिनको शव बेडबाट हटाउन चार घन्टासम्म लाग्ने गरेको छ । नेपाली सेनाले शव निकाल्नुपर्ने भएकाले त्यस्तो व्यवस्थापनमा समय लाग्ने गरेको अस्पतालको भनाइ छ ।

कोरोना जितेका एक २८ वर्षीय युवकले भने, ‘चाँडो शव निकाले धेरै बिरामीलाई सहज हुन्थ्यो । बेडमा शव रहिरह्यो भने डराएरै मरिन्छजस्तो हुन्छ ।’ उनले चाँडो बेड खाली नगर्दा गम्भीर अवस्थाका बिरामी एकैपटक धेरै आए बेड नपाउने समस्या हुने भएकाले पनि चाँडो व्यवस्थापन गर्नुपर्ने बताए ।

नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डा। सरोजरोशन दासले कम्तीमा दुई घन्टामा शव अस्पतालबाट निकाल्ने गरिएको बताए । ‘प्रशासन, सेना र मृतकका परिवारको समन्वयमा शव निकाल्नुपर्ने भएकाले अलि ढिलाइ हुने गरेको हो,’ डा। दासले भने । वीरगन्जमा कोरोना संक्रमण दरसँगै गम्भीर संक्रमितको संख्या र मृत्युदर समेत बढ्दै गएकाले पनि शव व्यवस्थापन चाँडो गर्नुपर्ने बाध्यता छ । नयाँ पत्रिका दैनिकबाट

Please follow and like us:
fb-share-icon0
Tweet 20
Spread the love
  •  
  •  
  •  
  •  
  •  
Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social media & sharing icons powered by UltimatelySocial