वीर अस्पतालकै संक्रमित स्वास्थ्यकर्मी गुनासो: ‘काममा सुरक्षा भएन, संक्रमित हुँदा उपचार र हेरचाह छैन, यो पेसा नै किन रोजे हुँलाझैं लागेको छ’

‘एक सातादेखी डाक्टरको अनुहार देखेकै छैन’

काठमाडौं, भदौं १९
म २५ वर्षदेखि वीर अस्पतालमा कार्यरत छु । एक साताअघि मलाई कोरोना पुष्टि भयो । मैले काम गर्ने वार्डको नर्सिङ इन्चार्जलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परें । पीसीआर रिपोर्ट आउनुअघि नै मलाई लक्षण देखिन थालिसकेको थियो ।

नाकबाट पानी बग्ने, घाँटी दुख्ने, सुक्खा खोकी लाग्ने, छाती दुख्ने, टाउको भारी हुनेलगायत लक्षण देखिएको छ । अहिले थला नै परेको छु, कमजोर अनुभव भएको छ । यसअघि मेरो मुटुको भल्भ फेरेको हो, उमेर पनि ५१ पुग्यो, त्यसैले होला अलि बढी च्यापेको छ । अक्सिजन लगाएर बसेको छु । अस्पतालको कार्डियोलोजी वार्डको आइसोलेसनमा अहिले ८ जना संक्रमित स्वास्थ्यकर्मी भर्ना भएका छौं । कसैलाई सामान्य लक्षण छ भने कसैलाई अलि गम्भीर ।

अस्पतालको खाना हेर्न पनि मन लाग्दैन । मुखमा हाल्नै नसकिने गरी नुन चर्को हुन्छ । दालमा पानी मात्रै हुन्छ । तरकारी सधैं एउटै हुन्छ । खाना देखेपछि लागेको भोक पनि हराएर जान्छ । वाक्क लागिसक्यो । यहाँ कसैले खाना खाँदैन, नुन चर्को भएर निल्नै गाह्रो हुन्छ । रोगले भन्दा पनि खानेकुरा गतिलो नपाएर म गलेको छु । ताजा, सफा, पोसिलो र मीठो खान पाए केही तंग्रिन्थे होला तर अस्पताल व्यवस्थापनबाट धेरै लापरबाही भएको छ । कोरोनाको औषधि छैन, तागतिलो खानेकुरा खाएर रोग प्रतिरोधात्मक क्षमता बढाउनु नै यसको उपचार हो भन्ने बुझेको छु तर के गर्नु घरबाट खानेकुरा मगाउन पनि सम्भव छैन ।

मेरै कारण दुई छोरा र एक छोरी पनि संक्रमित भइसके । उनीहरू पनि अहिले वीर अस्पतालमै भर्ना छन् । कहाँ छन्, के खाइरहेका छन्, चिन्ता लागेको छ । उपचार गर्ने वार्ड पनि अस्पताल जस्तो लाग्दैन, थुनेर राखेजस्तो महसुस हुन्छ । सुत्दा–सुत्दा दिक्क लाग्छ, यसो बिहान योग, रिल्याक्सेसन गराइदिए पनि हुन्थ्यो तर कोही यहाँ छिर्दैन । आठै जनाको ज्वरो र रक्तचाप पनि मै नाप्छु ।

म स्वास्थ्यकर्मी हुँ केही जानेको छु, नजान्नेले के गर्छन् होला रु भर्ना भएदेखि डाक्टर त मैले देखेको पनि छैन, अझै हामीलाई जाँच्लान् भन्ने त कसरी चिताउनु ? पीपीई लगाएर नजिक आउँदा त के हुन्छ र रु तैपनि वास्ता गर्दैनन् । कहिलेकाहीं नर्सिङ स्टाफ आउँछन् । ल है औषधि खानू भनेर थपक्क राखेर गइहाल्छन्, नजिकै पर्न चाहँदैनन् । यसो परामर्श गरिदिए पनि मन हल्का हुन्थ्यो, केही हौसला बढ्थ्यो । के छ कस्तो छ, कसैले सोध्दैन । म आफूले चिनेका डाक्टरहरूसँग फोनमा आफ्नो समस्या बताउँछु तर सबै कुरा सुनेर मात्रै उपचार हुन्छ र ?

कोरोना संक्रमणबीच हामीले निकै जोखिम मोलेर काम गरेका थियौं । स्रोतसाधन दिइएको थिएन । मास्क, पन्जा, सेनिटाइजर, पीपीई केही थिएन । पीपीई चाहियो भन्न जाँदा ‘आइसोलेसन र आईसीयूमा काम गर्नेलाई मात्रै हो पीपीई, अरूलाई संक्रमणको जोखिम छैन, चाहिँदैन’ भनियो । तर, त्यो सत्य हुन्थ्यो भने हामी स्वास्थ्यकर्मी कसरी संक्रमित हुन्थ्यौं रु सबै कर्मचारीका लागि अस्पतालले गाडीको व्यवस्था गरेन । सार्वजनिक यातायात चढ्नुपर्ने बाध्यता थियो ।

यसरी स्वास्थ्यकर्मी नै संक्रमित हुँदै जाने हो भने भोलि बिरामी हेर्ने जनशक्ति नपाउने अवस्था आउन सक्छ । हामीले व्यवस्थापन सुधार्नुपर्छ भनेर धेरै भन्यौं, तर वास्ता भएन । आज वीरमा स्वास्थ्यकर्मी भकाभक संक्रमित भइरहेका छन् । काम गर्दा सुरक्षा भएन, संक्रमित हुँदा उपचार र हेरचाह छैन । यो पेसा नै किन रोजे हुँलाझैं लागेको छ, धेरै मन दुखेको छ ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आजदेखि उपत्यकामा व्यापार व्यवसाय खुला

काठमाडौँ । उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गईरहेको बेला जनस्वास्थ्यमा गम्भिर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी कोभिड–१९ को संक्रमणको प्रभावकारी रोकथाम...

हालसम्मकै सबैभन्दा धेरै संख्यामा संक्रमण पुष्‍टि, कुल संक्रमितको संख्या ५८ हजार नाघ्यो

काठमाडौँ । एकैदिन अहिलेसम्मकै धेरै १५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको छ ।...

सीमा सुरक्षामा खटिएका प्रहरीलाई छाक टार्नै धौधौ

बझाङ । भदौको झिसमिसे उज्यालो । अँध्यारोमै प्रहरी टोली घरमा आएपछि शैनगाउँकी रुप्सी बोहराको होसहवास नै उड्यो । घरमा कुनै सदस्यले गल्ती...

सम्बन्धित शीर्षक

  •  
  •  
  •