कता मोडिँदै छ एनआरएनए, के होला भविष्य ?

  • रविना थापा

विश्वभर जहाँ रहेपनि आखिर नेपाली, नेपालीत्वमै आफ्नो पहिचान बनाएको हुन्छ । डा.उपेन्द्र महत्तोलगायत केहि नेपालीहरुले सन् २००३ मा ‘नेपालीकालागि नेपाली’ भन्ने एउटा पवित्र उद्देश्यका संसारभरिका नेपालीलाई संगठित गर्ने अभिप्रायले जन्मेको संस्था हो, गैर आवासीय नेपाली संघ (एनआरएनए)।

एनआरएनएले संसारभरका नेपालीहरुको आवद्धतालाई जोड्दै नेपालीहरुको बाहुल्यता भएको देशहरुमा शाखा विस्तारलाई निरन्तरता दिएको छ । यसैक्रममा हाल ८४ देशमा यसको शाखा विस्तार भइसकेको छ । साथै करिब एक लाख भन्दा बढि गैरआवसीय नेपालीहरु एनआरएनएमा आवद्ध भएका छन् ।

संगठनात्मक पुनःसंरचना सम्बन्धी प्रस्तावमा वृहत छलफलको खाँचो

१७ औ वर्षको अन्तरालमा एनआरएनएले नेपाल र नेपालीका पक्षमा विविध गतिविधि संचालन गर्दै आएको छ । पछिल्लो समय एनआरएनएलाई थप फराकिलो र मार्गदशन हुने गरि अघि बढ्न तथा नेपालसँगको सम्बन्धलाई थप मजबुत बनाउन बृहत छलफलको आवस्यकता छ ।

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्ले हाल बहसमा ल्याएका संस्थागत संरचना परिवर्तनका एजेण्डाहरु जस्तै: निःशुल्क सदस्य, महाधिवेशन प्रतिनिधि छनौट प्रकृया, स्मार्ट एनआरएन, अनलाईन निर्बाचन प्रणाली लगायतका विविध बिषयमा व्यापक रुपले छलफल हुनु जरुरी छ ।

नेपाल सरकारले एनआरएनएको परिभाषामा समेटेका सबै ब्यक्तिलाई स्वतः सदस्य मानेर निर्वाचनलगायत सबै गतिविधिमा सहभागी हुने अधिकार खुला गरिनुपर्छ । निर्वाचन र संस्थाको आर्थिक श्रोतका लागि मात्रै सदस्यता प्रणाली लागू गर्नु संस्थागत हित र मान्यता विपरीत छ । सबैलाई निःशुल्क र सहज सदस्यता दर्ता गराई सरकारबाट उपलब्ध हुने परिचयपत्र प्रदान गर्नु÷गराउनु हाम्रो दायित्व हो । साथै सबै प्रवासी नेपालीलाई यो अभियानमा समेट्नु जरुरी छ ।
एनआरएनए भनेको चुनाव र ब्यापार गर्ने थलोमा केन्द्रित भयो भन्ने आरोप सँधै खेप्दै आएका छौँ । एनआरएनए भनेकै २ वर्षमा हुने चुनाव हो भन्ने आम मान्छेको धारणामा परिवर्तन आउन जरुरी छ । विश्वभरीका नेपालीबाट चुनिएर बनेको कमिटी २ बर्षमा होईन कम्तिमा ४ बर्षकालागि पदावधि हुनु पर्छ । ४ बर्षको भयो भने चुनाव केन्द्रित भन्ने आरोप स्वतः घट्न सक्छ ।

एनआरएनएको अभियानका उपलब्धीलाई संस्थागत गरेर तत्काल सम्पूर्ण प्रवासीले मतदातालाई छनौट गर्नेभन्दा मताधिकार प्राप्त गर्ने एजेण्डामा हाम्रो अभियान केन्द्रित गरिनु पर्छ । तब मात्रै एनआरएनए सबै प्रवासीको साझा संस्था बन्न सक्छ । नेपाल बाहिर रहेका सबै नेपालीहरुको साझा संस्था हो एनआरएनए । संस्थालाई नाफामुखी बनाउने नाममा संस्थागत हुन पाउने धेरै प्रावसी नेपालीहरुको अधिकार बन्चित भएको छ । त्यसैले सदस्यता शुल्क निःशुल्क गरिनुपर्छ र सबैलाई मताधिकार दिलाउनु अहिलेको आवश्यकता हो । तर, केही व्यक्तिको स्वार्थअनुसारका एजेण्डा लागु गर्ने अनि प्रत्यक्ष निर्वाचनको एजेण्डालाई अध्ययनका नाममा छाड्ने कुरा कदापी मान्य हुन सक्दैन ।

एनआरएनएमा चुनाव लड्नका लागि पैसाको प्रतिस्पर्धा भयो । जो करोडपति छ, उही एनआरएनएको पदमा पुग्न सक्छ । यसले पैसा नहुने र विचार (भिजन) हुनेहरुले संस्थामा निर्वाचित हुन सक्ने अवस्था रहेन । त्यसैले मनोनयन शुल्क घटाएर सबैको पहुँचमा पुग्ने र सहज वातावरण सिर्जना गरिदिनुपर्छ । नेपालको प्रदेशसभा सांसद चुनाव लड्नका लागि केबल ५ हजार धरौटी राखे पुग्छ, प्रतिनिधिसभाको चुनावका लागि १० हजार मात्रै फेरी त्यसमा थ्रेस होल्ड कटाएपछि फिर्ता हुने नियम छ ।

फेरी नेपाल सरकारको एउटा निकाय परराष्ट्रमन्त्री यस संस्थाको प्रमुख संरक्षणक रहने कानुनी व्याबस्था गरेपनि पछिल्लो समय विना सहमती नै हरेक काम भईरहेका छन् । हरेक चुनावमा लड्ने संस्थालाई तिर्नु पर्ने धरौटी सामान्य मान्छेले सुन्दा समेत अच्चमै पर्ने हुन्छ ।मूख्य अभिभावक संस्थालाई किन चाहियो रकम ? यसबारे गम्भीर समिक्षा गर्न जुरुरी छ । त्यस विषयमा तत्काल सच्याउनेतर्फ नेतृत्वले ध्यान दिनुपर्छ ।

निर्वाचन मनोनयन शुल्क नै चर्को तिरेर पनि निर्वाचित भएपछि समेत पदाधिकारी र सदस्यहरुले आईसीसी शुल्क १ हजार डलर पुनः तिर्नुपर्छ । यो अव्यवहारीक र अवैज्ञानिक छ । मनोनयन शुल्क हटाऔं नभए आईसीसी शुल्क लिन बन्द गरौं । १० वा २० डलरको सदस्यता घटाएको देखाउने र उम्मेद्वार हुनकालागि १० लाख तिर्न बाध्य पारिने बारेमा सचिवालयतहमैगुपचुपको अवस्था छ । त्यो आफैमा रहस्यमय देखिन्छ ।

एनआरएनएलाई सबैको साझा संस्था मान्ने, बनाउने वा पैसावालाहरु मात्रै समेटिदै जाने ? यदि पैसावालालाई मात्रै समेटदै जाने भए विजनेश फोरम खोले हुन्छ । प्रवासी नेपालीहरुको संस्था बनाउने भए यस संस्थालाई विपतमा नेपाल र नेपालीसंग जोडिने साझा संस्था बनाउन आबस्यक छ ।

संगठनात्मक पुनःसंरचना प्रस्तावमा फरक मत
गैरआवासीय नेपाली संघ (एनआरएनए) को सांगठानिक पुर्नःसंरचना तथा विद्यान संसोधनलगायत एक दूरगामी महत्व राख्ने प्रस्तावमा मेरो फरक मत छ । संघको अनलाइन कन्फ्रेन्स कल मार्फत सम्पन्न अन्तर्राष्ट्रिय समन्वय समिति (आइसीसी)को बैठकले सदस्यता शुल्क, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिषदको निर्वाचन प्रकृया, इलोक्ट्रोनिक्स मतदान, महाधिवेशन प्रतिनिधि चयनलगायतका क्षेत्रमा हुने पुनःसंरचनाको सम्वन्धी प्रस्तावलाई थप अध्ययन गर्न एनसिसीसम्म हामी जानै पर्छ । विगतका बैठकहमा एनसिसिहरुसँग गरिएको छलफलमा राखेका कुराहरू र आईसिसिको बैठकमा छलफल भएका कुराहरूमा धेरै भिन्नता देखेका छौं । त्यसकारण यो बिषय गम्भिर छ । यसमा बृहत छलफलको आवश्यकता छ।

निशुल्क सदस्यता, अनलाइन भोटिङ ,सम्मेलन प्रतिनिधि छनोट, एमआईएस सिस्टमलगाएतका विषयहरूलाई अलगअलग तरिकाले होइन प्याकेजमा टुंगो लगाउन पर्दछ।अध्यक्ष र महासचिवले पटकपटक संस्थामा धेरै सदस्यहरू भएमा अन्तराष्ट्रिय संघ संस्थाहरूवाट सहयोग लिन सकिन्छ भन्ने कुरामा जोड दिएको पाइयो ।यस विषयमा मैले पदाधिकारी र आईसिसि बैठकमा सदस्यताको प्रकारलाई परिवर्तन गर्ने प्रस्ताव गरेको थिएँ । तर मेरो कुराको कुनै सुनुवाई भएन ।यदि निःशुल्क सदस्यता वितवरण गरेमा साँचिकै संख्या बढाउन यस्तो गर्न सकिन्छ ।

१. साधारण सदस्य (पैसा नतिरिकन बन्ने): संस्थाको साधारण सदस्य हुने तर पदाधिकारी तथा सदस्यहरू छनोटमा मताधिकार र उमेदवार बन्न नपाउने किसिमका सदस्यहरुलाई एनआरएनएले धेरै सदस्य संख्या देखाउन आबस्यक परेको ठाउँमा प्रस्तुत गर्न सकोस ।

२. पंजीकृत सदस्य: (एनआरएनए एनसिसि मा आबस्यक शुल्क तिरेर बन्ने सदस्य) । यी सदस्यहरूले एनसिसिको निर्वाचनमा उम्मेदवार बन्न तथा मतदान गर्ने अधिकार प्राप्त गर्ने र आईसिसिको महाधिवेसन प्रतिनिधि बन्न र छनोट गर्ने अधिकार प्राप्त गर्ने।साथै अन्य नियमहरु अनुकुल भएको अबस्थामा एनआरएनएको राष्ट्रिय समन्वय परिषद्, अन्तर्राष्ट्रिय समन्वय परिषद्का बिभिन्न पदहरुमा उम्मेदबार हुन सक्ने ।

विगतका घटनाहरूले पैदा गरेको इलेक्ट्रोनिक मतदान र प्रतिनिधि दर्ताको अविश्वासको खाडललाई मेटाउने गरि भविष्यमा उम्मेदवार नहुने विशेषज्ञहरुको उच्चस्तरीय समिति बनाई यी सबै विषयहरुलाई गहन अध्ययन गरि सामुहिक निष्कर्षमा पुग्नु पर्दछ। गत आइसिसी बैठकमा सांगठानिक पुनःसंरचना सम्बन्धी प्रस्तावमा धेरैजसो सदस्यहरुले वृहत छलफल गरेरमात्र यसलाई पास गर्नुपर्ने धारणा राख्दा राखदै एनआरएनए नेतृत्वले योजनावद्ध तवरले एकपक्षीय रुपमा प्रस्ताव पास गरेपछि विवादले उग्र रुप लिएको हो ।

यस विषयमा सबैको ध्यान जाओस भन्दै महत्वपूर्ण बिषयहरूमा निर्णय लिनका लागि आईसिसिको बैठकमा आफ्ना कुराहरू राख्ने समय अत्यन्तै थोरै हुने गरेको हुनाले सकभर महत्वपूर्ण आईसिसि बैठक २ देखि ३ दिनसम्म चलाउनु पर्ने देखिन्छ । जसले गर्दा आफ्ना भनाईहरु खुलस्त ढंगले राख्न पाइयोस । वैठकबाट नै समस्याहरुको निराकरण गर्नसकियोस ।

दम्भ त्यागौं, संस्थाको प्रगति सोचौं !

नेपालमा दुई–दुई वर्षमा हुने एनआरएनए सम्मेलनको निर्वाचनमा नेपाल र नेपालीहरुसँग भेटघाट मात्रै नभई नेपालको अर्थतन्त्रलाईसमेत टेवा पुर्याएको छ। विश्व सम्मेलन नेपालमा गर्नुपर्छ तर सम्मेलनले नयाँ नेतृत्व छान्ने केहि प्रकृयाहरुलाई भने परिमार्जन गर्न जरुरी छ ।१७ बर्षसम्म नयाँ नेतृत्व निर्वाचित गरेको निर्वाचन पद्धतीलाई समयानुकुल परिवर्तन गर्न आवस्यक भएको छ । तर अहिलेसम्म भएका सबै विकृतीमा दोषरोपणले संगठन अगाडि बढ्न सक्दैन । त्यसैले निर्वाचन पद्धतीका बारेमा गहिरो अध्ययनको जरुरी छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीहरुको मुख्य गन्तव्य मध्यपुर्वको समस्या, अन्य भन्दा फरक छ । एनआरएनएले सरकारसँग सहकार्यमा त्यहाँ काममा गएका नेपालीहरुको समस्या हल गर्न विशेष प्याकेजको कार्यक्रम ल्याउनु पर्छ । हरेक चुनावमा मध्यपुर्वलाई नै सबैले पहिलो एजेन्डा बनाएर चुनाव जितेकै दिनबाट विर्सने प्रवृत्तिले त्यहाँको समस्या जहाँको त्यहिँ छ ।जब हामी संस्थाको मुल मर्मलाई बिर्सेर गुट–उपगुटमा बिभाजित हुन्छौ, तब संस्थाको दुरगती प्राराम्भ हुन्छ । पछिल्लो समय देश–बिदेशमा रहेका नेपालीहरु कोभिड—१९ जस्तो महामारीबाट गुज्रीरहेको अबस्थामा हामी एकजुट भएर एकआपसमा सहयोग गर्दै अगाडी बढ्नुपर्ने हुन्छ ।

नेतृत्वले एनआरएनएको संरचना परिवर्तन गर्दा सम्पूर्ण गैरआवासीय नेपालीहरुको भावनाअनुसार किन, कहिले र केकालागि परिबर्तन गर्न जरुरी छ, भन्ने वास्तविक आधारहरु निर्धारण गरेको हुनुपर्दछ । हामी सबै सकारात्मक परिबर्तनको पक्षमा छौँ ।यस्ता किसिमका गहन छलफलमा संस्थाको मेरुदण्डका रुपमा रहेका राष्ट्रिय समन्वय परिषदलाई सहभागी गराई लोकतान्त्रिक, पारदर्शी एवं बिधि–विधानअनुसार साधारण सभा मार्फत निर्णय लिनुपर्दछ ।

कार्यसमिति भित्र र बाहिर रहेका आम गैरआवासियहरुका मुद्धाहरुलाई स्थापित गर्न आगामी दिनमा मिलेर काम गर्नुको बिकल्प छैन । हामी जति बिभाजित हुदै जान्छौँ, त्यतिनै कमजोर हुन्छौँ र हाम्रा उदेश्यहरुबाटै विचलित हुने अवस्था सिर्जना हुन्छ । बिगतमा सम्पन्न भएका महाधिवेशन प्रतिनिधि चयन, चुनावी प्रकृया विवादरहित हुन सकेन फलस्वरुप हामी संगठित हुनुको सट्टा बिभाजीत भयौँ । हामी आफ्नो घरपरिवार, व्यवसाय, जागिर एवं व्यक्तिगत जीवन लगायतका सम्पूर्ण कुराहरुलाई पछाडि धकेल्दै यस अभियानमा सामेल भएका छौँ । आखिर के कालागि ?अब हामीले गम्भीर समीक्षा गर्ने समय आएको छ ।

अतःआगामी दिनमा हाम्रा चुनौतीहरु धेरै छन् तर हामी सच्चिनुको बिकल्प छैन । हामीले हाँसिल गरेका उपलब्धीहरुलाई संस्थागत गर्दै गैरआवासीय नेपालीहरुले प्राप्त गर्ने नेपाली नागरिकता लगायतका बिषयहरुमा हाम्रो आवाज बुलन्द गर्नुपर्दछ । “नेपालीकालागी नेपाली” भन्ने भावनालाई आत्मसात गर्दै आम गैरआवासीय नेपालीहरुको हितमा मिलेर काम अहिलेको समय सान्दर्भिकताको हो ।
(थापा एनआरएनए आइसिसी उपाध्यक्ष हुन्।)

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आजदेखि उपत्यकामा व्यापार व्यवसाय खुला

काठमाडौँ । उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गईरहेको बेला जनस्वास्थ्यमा गम्भिर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी कोभिड–१९ को संक्रमणको प्रभावकारी रोकथाम...

हालसम्मकै सबैभन्दा धेरै संख्यामा संक्रमण पुष्‍टि, कुल संक्रमितको संख्या ५८ हजार नाघ्यो

काठमाडौँ । एकैदिन अहिलेसम्मकै धेरै १५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको छ ।...

सीमा सुरक्षामा खटिएका प्रहरीलाई छाक टार्नै धौधौ

बझाङ । भदौको झिसमिसे उज्यालो । अँध्यारोमै प्रहरी टोली घरमा आएपछि शैनगाउँकी रुप्सी बोहराको होसहवास नै उड्यो । घरमा कुनै सदस्यले गल्ती...

सम्बन्धित शीर्षक

  •  
  •  
  •