• 212
    Shares

कोरोनासँग कुस्ति खेल्दा…

कोरोनासँग कुस्ति खेल्दा…

  • 212
    Shares
  • यज्ञराज ढुंगेल

सन् २०१९ मा चिनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसले विश्वका कुनै देश छोडेन । संसारको कुनै छेउ कुनापनि यसको संक्रमणबाट अछुत रहा सकेन । विज्ञान र प्रविधिको आविस्कार र विकासको कारण उच्च शिखरमा पुगेको विश्वले यसको न रोकथामको उपाय सोच्न सक्यो न त उपचार गर्न कुनै औषधि नै पत्ता लगाउन सक्यो ।

संसार यति आतङ्कित बन्यो कि पृथ्वीमा एउटा ग्रह ठोकिदैछ वा संसार पर्लय तर्फ अगाडी बढिरहेकोछ र मानव जातिको नै संहार हुँदैछ । हामी सबै असहाय छौं हामी बाँच्ने उपाय केहि छैन । यस्तै कुराहरु सरकारी निकायहरु हुन् वा विज्ञहरु हुन अथवा विश्व स्वास्थ्य संगठनका जानकार व्यक्तिहरु हुन सबैले एक सोरले यो रोगको बारेमा अनौठो किसिमबाट प्रचार गरे जसको कारण मानिसहरुमा वास्तविकता भन्दा बढी त्रास पैदा हुन गयो ।

सामाजिक सन्जालहरुको प्रचारको बारेमा त झन कुरै नगरे भयो । रोगको ब्यापकता र प्रचार प्रसारले हामी सबैमा त्रास फैलनु स्वाभाविकै थियो । यहि डरमा पिल्सिएर बस्ने संसारका त्रसित ब्यक्ति मध्ये एक म पनि परेको थिएँ । यसै कारण म पनि सरकारले तय गरेका मापदण्ड भित्र रहन कोशिस गरेँ । सकभर घरबाट निस्किन र निस्किहाले पनि समाजिक दूरी कायम गर्ने र मास्क लगाउने कुरामा मेरो एक किसिमको बानी नै परिसकेको थियो तर आफूले मात्र होसियार भएर पुग्ने रहेनछ आफ्नो घरबाट बाहिर काम गर्न जाने परिवारका सदस्यहरुबाट पनि संक्रमण हुने उत्तिकै सम्भावना हुने रहेछ ।
कोरोनाले अरु कोहि नभेटेर हाला मेरो परिवारमा आक्रमण ग¥यो ।

सबभन्दा पहिला मेरो जेठो छोरा संक्रमित भएछन् तर उनी कसरी संक्रमित भए भन्ने कुरा अहिलेसम्म पत्ता लागेको छैन । हामी कौशलटारमा बस्ने र उनको परिवार दुवाकोटमा बस्ने भएको हुनाले उनालई ज्वरो आएको कुरा फोनबाट थाहा भयो । उनलाई असोज २६ गते देखि उनलाई ज्वरो आउन थालेछ । दुई तीन दिन रुघाखोकीको ज्वरो होला भनेर वास्ता गरिएन तर चौथो दिनपनि ज्वरो नघटेकोले कान्छो छोरा विनोदले दाजुलाई भक्तपुर अस्पतालमा लगेर २९ गते पिसिआर परीक्षण गराएपछि ३० गते ४ बजे तिर रिपोर्ट आउँदा उनलाई कोरोना पोजिटिभ देखियो र उनी दुवाकोट घरमा नै आइसोलेसनमा बसे । आश्विन २९ गते श्रीमतिलाई ज्वरो आयो तर सिटामोल खाएपछि ३० गते निको भयो । सायद रुघाखोकीको ज्वरो होला भन्ने अनुमान गरेर श्रीमतीलाई कार्तिक १ गतेको कार्यक्रममा समावेश गरियो । तरपछि थाहा भयो कि उनी त्यस दिन अगाडी नै संक्रमित भएर लक्षण समेत देखिसकेको रहेन्छ ।

यस घटनाले मलाई भने ठूलो धर्मसंकट आइलाग्यो । कार्तिक १ गते मेरा दुईवटा पुस्तकहरु माननीय संचार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रबक्ता पार्बत गुरुङ् र बरिष्ठ पत्रकार एवं लेखक भैरव रिसालबाट बिमोचन गराउने कार्यक्रम बनेको थियो । त्यो कार्यकम रोक्नपनि समय थिएन र गर्दापनि हामीमध्ये कोहि संक्रमित भएका छौं कि भन्ने शंका भयो । जेठो छोरा सात आठ दिनदेखि कौशलटार नआएको हुनाले हामी संक्रमित नभएको पनि हुनसक्छ भन्ने आशामा त्यो कार्यक्रम सामाजिक दूरी कायम गरेर सम्पन्न गरियो ।

कार्यक्रम सकिएको भोलिपल्ट कार्तिक २ गते उनीलाई पेट दुख्ने समस्या देखियो र ग्यास्ट्रिकले दुखेको अनुमान गरियो । ३ गतेपनि दुख्न कम नभएको हुनाले नेपाल क्यान्सर अस्पतालका पेट रोग विशेषज्ञ निरज जोशीलाई देखाउन ४ गते त्यहाँ लगियो । डाक्टरले परैबाट हेरेर ग्यास्ट्रिकको औषधि दिएर पठाए । ३ गते बेलुका मलाईपनि ज्वरो आएको थियो र एउटा फ्लेक्सन खाएर सुतेपछि ओछयान नै भिज्नेगरी पसिना आएछ र बिहान उठ्दा ज्वरो थिएन । उनीलाई जँचाएर फर्किदा ज्वरो आउनाको कारण कोभिड-१९ हो कि भन्ने शंका लागेर बी एण्ड बी अस्पतालमा मेरो, श्रीमतिको र सुनिता छोरीको पिसिआर परीक्षण गरायौँ । त्यसै दिन बेलुका ९ बजे तिर हामी ३ जनाको रिपोर्ट आउँदा मेरो र श्रीमतिको पोजिटिभ आएछ र सुनिता छोरीको निगेटिभ आएछ । हामी दुइजना छुट्टै एउटा कोठामा बस्यौँ । भोलिपल्ट घरमा रहेका छोरो बुहारी र दुइवटी नातिनीहरु समेत बि एण्ड बि अस्पताल गएर पिसिआर परीक्षण गराउँदा सबैको निगेटिभ रिपोर्ट आयो । हामीसँगै ८६ बर्षको दिदी बस्नुहुन्छ । उहाँलाई अस्पताल लान नसकेर घरमानै स्वास्थ्यकर्मी बोलाएर स्वाब दिएर पठाइयो र उहाँकोपनि नतिजा निगेटिभ नै आयो । त्यहीँ बेला कौशलटार घरमा हामी दुईजना बाहेक सबैको नतिजा निगेटिभ आएपछि हामी मात्र एउटा कोठामा आइसोलेसनमा बस्यौँ ।

सुगर, प्रेसर, दम तथा बाथ रोगको नियमित औषधि सेवन गरिरहेको र समय समयमा निमोनियाले सताउने गरेको ७५ बर्ष उमेर पुगेको मलाई कोरोना लाग्यो भनेपछि बाँच्ने आशा बिल्कुल थिएनन्

आफूलाई कोरोना लागेको थाहा भएपछि मेरो मनमा अनेक तर्क बितर्कहरु चल्न थाले । सुगर, प्रेसर, दम तथा बाथ रोगको नियमित औषधि सेवन गरिरहेको र समय समयमा निमोनियाले सताउने गरेको ७५ बर्ष उमेर पुगेको मलाई कोरोना लाग्यो भनेपछि बाँच्ने आशा बिल्कुलै रहेन । बिशेषज्ञहरुको भनाईमा पनि यस्ता रोग लागेका मानिसहरु बचाउन बिरलै सकिने भन्ने अभिव्यक्तिले मेरो मनमा झन मृत्यूको त्रास बढेर गयो । यस बखतमा मैले एउटा निर्णय लिनु जरुरी भयो । नेपालमा दुइसय जनामा एकजना मर्ने गरेको आँकडा भएको हुनाले सकेसम्म यो रोगले मलाई लान सक्तैन भन्ने लाग्यो र लगिहाले पनि एक पटक त जानै पर्ने हो यसमा चिन्ता गरेर कुनै अर्थ छैन भन्ने सोचेर मन द¥हो बनाएँ । अर्कोतर्फ मैले यो रोगबाट बढि त्रसित भएको देखाए भने मेरी ७५ बर्ष कि श्रीमति झन आत्तिएर बचाउन नसकिने खतरा हुने र छोरा छोरीहरुमा पनि बढि चिन्ता पर्ने ठाँनेर मैले सकभर रोगले गाँजेको जस्तो देखाउन चाहिन र मलाई केहि नभएको बहाना गरँे । भाग्यले होला मलाई ज्वरो आउने खोकी लाग्ने खासै भएन ।

मुखमा स्वाद नहुने, खाना देखेपछि वाक्क आउने, मुख खश्रो हुने र घाँटी सुख्खा भईरहने लक्षणहरु देखा परे । उनीलाई भने यी सबै लक्षणहरुको अतिरिक्त १०२ डिग्रीसम्म ज्वरो आयो र सिटामल खुवाएपछि ९८ डिग्री तिर झर्ने फेरी आइहाल्ने भयो । दिनको चार पटकसम्म औषधि खादापनि ज्वरो कम भएन । ८ दिनसम्म पनि ज्वरो नहटेपछि दिनको दुइ पटक फ्लेक्सन दिएपछि बल्ला ज्वरो कम भयो । सामान्य रोगसँग पनि डराउने उनको बानीले गर्दा झन कोरोना लागेपछि मरिन्छ भनेर उनी आत्तिन्छिन् भनेर मलाई ठूलो डर थियो यसकारणपनि ंयस समयमा उनलाई मरिन्न भन्ने कुराको विश्वास दिलाएर आत्मबल बढाउने काम गरें । कोरोना कस्तो हो भन्नेसमेत महशुस नगराई मलाई देखिएको कोरोनाको नजरमा लागि आफ्नो रोगलाई नजर अन्दजाज गर्नुपर्ने बाध्यता नै हराएन्छ । मेरा कुरा सुनेपछि उनमा पनि डर कम हुँदै गयो र आफैं पनि मलाई केहि हुंदैन भन्न लागिन र मलाई उल्टै सम्झाउने काम गर्न दिन थालिन् ।

उता हामी बिरारी भएपछि कान्छी छोरी सुनिताले हामीलाई स्याहारसुसार गर्दा उनीपनि संक्रमित भइन् । सुरुमा उनलाई टाउँको दुखेर ज्वरो आयो र पछि गएर सहनै नसक्ने गरी कम्मर दुख्यो । उनी झन् हामीभन्दा बढी बिमारी हुन परिन् र हामीलाई खाना पकाउने र ल्याउने काम कान्छी बुहारी आरतीले गर्न थालिन् । केहि समयपछि कान्छो छोरो र ंबुहारी र सानी नातिनीसमेत सबै संक्रमित भए । दशँैको मध्येमा सबैजना संक्रमित भएपछि दशैँ कहिले आयो र कहिले गयो पत्तो भएन । उता जेठा छोराका परिवार तीनै जना संक्रमित भए तर भाग्यको कुरा त के रह्यो भने सुगर रोगको औषधि लिने ८७ वर्षकी दिदीलाई भने हामीसंगै एकै भान्सामा खाँदा, एउटै ट्वाइलेट प्रयोग गर्दापनि रोगले छोएन र १५ बर्षकी ठूली नातिनीपनि यसबाट बाँचिन् । अहिले हामी सबै कोरोनामुक्त भइसकेका छौ र कोरोनासँग कुस्ति खेलेर विजय हासिल गरेकाछौँ ।

परिवारमा देखिएका कोरोनाका साझा लक्षणहरुः
हाम्रो परिवारमा संक्रमित सबैमा ज्वरो आउने, शरिर दुख्ने, खानामा स्वाद र गन्ध थाहा नहुने, शरीर कमजोर हुने, नाक मुख सुृख्खा हुने र खान मन नहुने लक्षण देखिए । कान्छो छोरा र कान्छी छोरीलाई हल्का रुघाखोकी लागेको थियो ।

औषधि उपचारः
बिभिन्न मानिसहरुले बिभिन्न औषधीहरु प्रयोग गर्न सल्लाह दिए तर कोरोनाको औषधी नै छैन भनेपछि हामीले तिनीहरुमा खास ध्यान दिएनौँ । केहि भिटामिनहरु र सिटामोलको प्रयोग बढि गरियो ।दिनमा चार पटकसम्म बाफ लिने, तातो पानी पिउने र झोल पदार्थ खाने गर्दा नै रोगले जित्न सकेन । गुर्जे पानी, दुध र मह विहान बेलुका खाए ।

सरकारी रेखदेखः 
होम आइसोलेसनमा बसेका हामी सबैलाई सरकारले त्यति वास्ता गरेन र परिक्षणबाट कोरोना पुष्टि भएको दिन जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरबाट फोन आयो र अस्पतालमा जान आवश्यक परे यो नम्बरमा फोन गर्नु भनेर एउटा नम्बर दियो त्यसपछि कुनै किसिमको सम्पर्कपनि भएन्न, आइसोलेसनमा बस्ने नियमहरुपनि सिकाइएन्न, कुनै डक्टरको सम्पर्कसमेत भएन्न् र आइसोलेसनमा बसे नबसेको कुनै निगरानी समेत सरकारी तहबाट भएनन् ।

साथीभाई नातागोताहरुसँगको सम्बन्धः
खास व्यक्तिहरु बाहेक अरुलाई प्राय खबर गरिएन । थाहा पाउनेहरुले एक दुई पटक फोन गरेर स्वास्थ्यबारे जानकारी लिनुभयो । तर मेरो भान्जे ज्वाँइले भने प्रायः सबै दिन आफैँ आएर हालत बुझ्नुभयो । उहाँलाई नआउन आग्रह गर्दापनि नियमित आउनुभयो र एक जना शुभ चिन्तकले दिनमा तीन पटकसम्म फोन गरेर अवस्थाको जानकारी लिनुभयो । उहाँहरु विशेष धन्यबादका पात्र हुनुहुन्छ ।

छरछिमेकीको दृष्टिकोणः 
जति खबर नगरेपनि छरछिमेकमा थाहा नहुने कुरा भएन तर उहाँहरु हामीलाई लेख्दा पनि त्रसित भएको देखिन्थ्यो । हाम्रो घरभन्दा १५ मिटर टाढाको घरका छतमा बसेर घाम तापिरहेका छिमेकीहरु हामी आफ्नो छतमा जाँदा हतार हतार कोठाभित्र छिरेको दृष्य देख्दा हामी कुनै मान्छे मार्ने वा तर्साउने भुत पो हौँ कि भन्ने भाँन पर्दथ्यो ।

सिकाईः
मेरो परिवारमा भएको कोरोना संक्रमणको अनुभवबाट मलाई निम्न सकारात्मक र नकारात्मक पाठहरु सिक्ने अनुभव भयो ।
१. कोरोना भाइरसको जसरी प्राण घातक भनेर प्रचारप्रसार गरिएको छ त्यस्तो हो भन्ने लागेन किनभने विश्वमा कुल संक्रमित संख्याको २.४८% मानिसहरुको ज्यान गएको देखिन्छ भने झन नेपालमा त कुल संक्रमित संख्याको केबल ०.५८% को आँकडा छ । हुनत एक जनाको पनि ज्यान गएको राम्रो होइन तै पनि प्रचार गरे अनुसारको खतरनाक रोग भने भन्न सकिदैनन् ।
२. होम आइसोलेसन र अस्पतालको आइसोलेसनमा रहदा दुबैमा सकारात्मक र नकारात्मक अनुभव भयो । घरमा रहँदा परिवारबाट माया ममता र स्याहार सुसार पाँउदा आत्मबल बढ्ने हुनाले रोग निको हुने सम्भावना बढि हुने रहेछ तर स्वास्थ्यकर्मीको सेवा नपाउदा ज्यान जाने खतरा बढि हुने रहेछ । कतिपय होम आइसोलेसनमा बसेका मानिसहरुको अवस्था खराब भएपछि अस्पताल लैजाँदा बाटोमै मृत्यू भएका खवरहरु पनि सुनिएको छ । अर्को कुरा होम आइसोलेसनमा बस्ने मानिसहरुबाट परिवारमा रोग सर्ने सम्भावना अत्याधिक हुने रहेछ र दिनानुदिन संक्रमितहरुको संख्या बढ्दै जानुको कारण यो पनि रहेछ ।

अर्कोतर्फ अस्पतालमा आइसोलेसनमा बस्नेहरुलाई औषधि उपचारको ब्यवस्था हुने भएपनि चिने जानेका वा परिवारका सदस्यहरुले भेट्न नपाउँदा बिरामीहरुमा निराशापन बढ्ने र रोगसँग लड्ने साहस नहुने हुनाले मृत्यू हुनेको संख्या बढ्ने सम्भावना हुने रहेछ ।

३. शरीरलाई हर तरहले तातो राख्ने, बाफ लिने र तातो पेय पदार्थ हरदम सेवन गरिरहने र खानापानमा ख्याल दिने र प्रयाप्त मात्रामा पोष्ट्रिक तत्वहरु सेवनले शरिरमा रोग प्रतिरोधी क्षमता बढेर कोरोना भाइरसलाई परास्त गर्न सकिन्छ ।
म र मेरो परिवारले कोरोनाको आक्रमणसँग लड्दै गर्दा भोगेका र अनुभव गरेका केहि घटनाहरु कोरोनाको आतङ्कबाट त्रसित जनसमुदाय समक्ष प्रस्तुत गर्दा केहि साहस र राहत मिल्ला भन्ने उद्देश्यले यो लेख प्रस्तुत गरेको छु ।

(लेखक ढुंगेंल शैक्षिक र नेपाली सहकारी क्षेत्रका अभियान्ता हुनुहुन्छ)

.

 

  •  
    212
    Shares
  • 212
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

जंगल वारफेर तालिम गर्ने पहिलो महिला सैनिक बनिन् राधिका

काठमाडौं । नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल युद्धकला (जंगल वारफेर) तालिम पहिलो पटक एक जना महिला सैनिक जवानले लिएकी छन् । १८ कात्तिकदेखि ६...

प्रचण्ड–माधवको ‘प्रेम’ सिनेमाको जस्तो : ओली

काठमाडौं, माघ ८ आफूपक्षीय पत्रकारलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको ‘प्रेम’ सिनेमाको जस्तो भएको टिप्पणी...

अब स्थानीय तहले नै कर्मचारीको राजीनामा स्वीकृत गर्न सक्ने

काठमाडौं । सरकारले स्थानीय तहमा समायोजना भएका कर्मचारीको राजीनामा स्वीकृत गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । कर्मचारी समायोजन ऐन, २०७५ को व्यवस्थाअनुसा प्रदेश र...

सम्बन्धित शीर्षक

  •  
    212
    Shares
  • 212
  •