सरररर…चचहुई…

सरररर…चचहुई…

दीपक श्रेष्ठ
बगरमा काँस फुल्न र शहरमा चङ्गा उड्न थालेपछि शरद ऋतुसँगै दशैँको छनक मिल्छ । काठमाडौँका रैथाने नेवार बस्तीमा झ्यालिन्चाको मधुर सङ्गीत घन्कन थालेपछि लाग्छ, अब पक्का दशैँ आयो । टोलटोलमा ‘आयो रातो माटो’ भन्दै गाउँले लवजको विज्ञापन जब सुन्न थालिन्छ नि, त्यही बेला गाउँतिर झ्याउँकीरी बास्न थालिसकेका हुन्छन् । अब पक्का हो, नेपाली गाउँबस्ती र शहरमा दशैँको माहोल सुरु भयो ।

दशैँ, तिहार, छठ, तीज, माघी, बड्की, भुमे, ल्होछार, इद, क्रिसमसलगायत दर्जनौँ चाडपर्व एवं संस्कृतिभित्र अर्थतन्त्रको ठूलो हिस्सा छ । दशैँमा गाउँको रातो माटो शहर पस्छ । शहरबाट लुगाफाटो, मरमसला गाउँतिर झर्छ । भेडा, च्याङ्ग्रा, खसी, बोकाको व्यापार पनि फस्टाउँछ, अरू बेलाभन्दा बढी । गाउँ फर्कन्छन्, परदेश लागेका छोराछोरी । सिँगारिन्छन् घर । सफा पारिन्छन्– बाटोघाटो, पानीपँधेरो, देवीदेउराली र चौतारी । अनि सुरु हुन्थ्यो पिङ थाप्ने चटारो । पिङ बाट्न बाबियोको खोजी । बाँसको लिङ्गो र गरालोको जोहो । रोटे पिङका लागि दरिलो खाँबाको खोजी । यद्यपि, पछिल्ला वर्षहरूमा नेपाली समाजमा पिङ थाप्ने संस्कृति विस्तारै घट्दै गइरहेको छ । पेसाले सिभिल इन्जिनियर सिन्धुलीका भुवन थापा भन्नुहुन्छ, “त्यसो त गाउँमा युवा पनि कम छन्, भएकाहरूको पनि रुचि पिङ संस्कृतितिर छैन ।”

कमलामाई नगरपालिकाको दमारमा १२ वर्षअघिसम्म लिङ्गे, जाँते र रोटे पिङ थापेको सम्झना गर्दै इन्जिनियर थापा भन्नुहुन्छ, “मनोरञ्जन र जीवन्त संस्कृतिका रूपमा पिङ थापिन्थे । आजकाल युवा पुस्ताले मोबाइल र अन्य तरिकाले मनोरञ्जन लिन थालेकाले पिङ संस्कृति कम हुँदै गएको हो ।”

विद्यार्थी अवस्थादेखि गाउँटोलमा पिङ थाप्ने कार्यको अगुवा बन्ने गरेका इन्जिनियर थापा भन्नुहुन्छ, “केही वर्ष काठमाडौँबाट धागोको लट्ठा लगेरसमेत पिङ हालियो, दुई वर्षदेखि त्यो कार्य पनि बन्द छ ।”

जुन बेला मनोरञ्जनका अन्य साधन थिएनन्, त्यो बेला पिङ संस्कृतिको विकास भयो । व्यापकता र महŒव पायो । युवा, केटाकेटी, महिला, ज्येष्ठ नागरिक सबैले सार्वजनिक स्थलमा राखिएका पिङबाट मनोरञ्जन लिए । अहिले प्रविधिको विकासले मनोरञ्जनका अनेकन माध्यम उपलब्ध गराएकाले पिङ संस्कृति खस्केको निष्कर्ष छ, संस्कृतिविद् डा. गोविन्द टण्डनको ।उहाँका अनुसार अहिले रेमिट्यान्स संस्कृतिको विकास भएकाले पिङको व्यवस्थापन गर्ने युवासमेत गाउँमा छैनन् । पिङ राख्न सामूहिक सहभागिता चाहिन्छ । लिङ्गे पिङका लागि बाबियो काट्नेदेखि बाट्ने, लिङ्गो गाड्ने बेलासम्म सामूहिक सहभागिता आवश्यक हुन्छ ।

अझ रोटे पिङका लागि प्रशस्त काठ, फल्याक र दक्ष जनशक्ति चाहिन्छ । त्यो जुटाउन र जाँगर चलाउन अहिले निकै मुस्किल छ । पछिल्लो समय पुराना चालचलन, संस्कृति र संस्कारमा व्यापक फेरबदल आइसकेको अनुभव छ उहाँको । वर्तमान समयमा सामूहिकता, श्रम, सीप, धीरता जुटाउन कठिन भएकाले पिङ संस्कृति सङ्कटमा परेको सिन्धुली नागेडाँडाका प्रमोद दाहाल बताउनुहुन्छ । यद्यपि, नागेडाँडाको रोटापोखरीको आँपको बोटमा अझै पनि लट्ठे पिङ हाल्ने गरिएको छ । विगतमा सो स्थानमा रोटे पिङ हाल्ने गरिएकाले स्थानीयवासी अझै पनि सो स्थानलाई रोटाटार, रोटापोखरी भन्ने गर्छन् । उहाँ भन्नुहुन्छ, “नागेडाँडाको रोटापोखरी, टारीगाउँ, खरहेगाउँ र भञ्ज्याङमा हरेक वर्ष पिङ हालिन्थे । पिङ हाल्ने प्रतिस्पर्धा नै हुन्थ्यो । अहिले अन्त छाडे पनि रोटापोखरीमा हरेक वर्ष पिङ हालिन्छ ।”

भुइँ छाड्ने संस्कृति
दशैँ–तिहारमा पिङमा उभिनु भनेको भुइँ छाड्ने संस्कृति पनि हो । संस्कृतिविद् डा. टण्डनका अनुसार वर्षको एक पटक पिङ चढेर भुइँ छाडे मरेपछि स्वर्ग गइन्छ भन्ने धार्मिक विश्वाससमेत छ । त्यसैले दशैँमा अक्षता र जमराले पिङ पूजा गर्दै ढोगेर ज्येष्ठ नागरिकले पिङ चढ्ने गरेको पाइन्छ । प्रायः दशैँका बेला ज्येष्ठ नागरिकहरू एक सर्को पिङ खेल्न रुचाउँछन् । सरदार भीमबहादुर पाँडेले ‘त्यस बखतको नेपाल’ पुस्तकमा लेख्नुभएको छ, ‘दशैँ र तिहारलाई खुब रमाइलोसँग मनाउँथे । गाउँपिच्छे कतै लट्ठे, जाँते र कतै रोटे पिङ हालिन्थे । दशैँमा पिङमा खुट्टा हाल्नुपर्छ र तिहारमा एकबाजी भए पनि पासा गुडाउनुपर्छ भन्ने गाउँलेको अटल धारणा थियो ।”

उहाँले पुस्तकमा लेख्नुभएको छ, “तिहारताका देउसिरी, भैलो खेल्ने र तगारोमाथि तोरन तार्ने पुरानो चलन छुटेको थिएन । सबैका घर लिपीपोती चिटिक्क पारिन्थे । धनी गरिब सबले मन फुकाएर दशैँ, तिहार मान्दथे ।”

थरीथरीका पिङ
खासगरी पिङ तीन प्रकारका हुन्छन्– लिङ्गे, जाँते र रोटे । स्थानअनुसार लिङ्गे पिङलाई लट्ठे पनि भनिन्छ । यस्ता पिङ बाँस वा सालका चारवटा लिङ्गो गाडेर थापिन्छ । टुप्पोमा फुर्का राखिएका दुई जोडी बाँस चार कुना मिलाएर गाडेर त्यसमाथि गरालो वा जुवा राखी बनाइएको पिङलाई लिङ्गे पिङ भनिन्छ । गरालोमा जुटको बोरा वा परालले मोडेर पिङ बाँधिन्छ । पिङ नखिइयोस् भनेर यस्तो बुद्धि लगाइएको हो । गरालो पनि निकै सन्तुलित पारेर राख्नुपर्ने हुन्छ, अन्यथा पिङ बाङ्गो लाग्छ ।

लिङ्गोको चार कुना मिलेन भने पनि पिङ ठोक्किने समस्या हुन्छ । त्यसैले लिङ्गो गाड्ने बेलामा नापजाँच गर्न अनुभवी मानिसको खाँचो हुन्छ । पिङ बाट्नसमेत अनुभवी मानिस चाहिन्छ । तीन जनाले बाबियोको पोयो समाएर बटार्दै घुम्ने र एकजनाले त्यसलाई मिलाएर पिङ बाट्ने (खिप्ने) सीप चाहिन्छ । पोयो समाउनेलाई बाबियो मिलाएर दिनेहरू पनि आवश्यक हुन्छ । पिङका लागि ल्याइएको बाँसको टुप्पोमा फुर्को राख्नुपर्ने मान्यतासमेत छ ।

ग्रामीण क्षेत्रमा ठूलो रूखको तेर्सो परेको हाँगामा पनि लिङ्गे पिङ थाप्ने गरिन्छ । कतिपय ठाउँमा आँप, बर, पीपललगायत ठूला रूखका तेर्सो परेका हाँगामा लट्ठे पिङ थापिन्छ । त्यस्तै रोटे पिङलाई स्थानअनुसार रोहोटे, चर्खे वा चमचा पिङ पनि भनिन्छ । थारू समुदायले हिरोल्ना भन्छन् । यसको बनावट चर्खाजस्तै हुन्छ । यो बनाउन दक्ष जनशक्ति र धेरै काठ, फल्याक आवश्यक हुन्छ । त्यसैले विगतमा पनि कतैकतै मात्र यस्तो पिङ बनाइएको पाइन्छ ।

रोटे पिङ चार पिर्के र आठ पिर्के (मान्छे बस्ने झ्याल आकारको पिर्का) बनाइन्छ । अर्को जाँते पिङ हुन्छ । जाँतोजस्तै घुमाएर खेलिने भएकाले जाँते पिङ भनिएको हो । यो खेल्दा रिँगटा लाग्नेसमेत हुन्छ । लिङ्गे पिङ आफैँले मच्चाएर खेल्न सकिने भए पनि रोटे र जाँते पिङ खेल्नका लागि अन्य मानिसको सहयोग आवश्यक हुन्छ । लिङ्गे पिङ मच्चाउने आफ्नै खाले ‘फर्मुला’ छ । पिङलाई बिस्तारै गति दिन काम्रोमा टुक्रुक्क बसेर दुवै हातले लट्ठा समाएपछि बस्दै उठ्दै लट्ठालाई दुई हातले झट्कार्दै पिङ मच्चाइन्छ । करिब एक फिट लामा दुईवटा साना लट्ठीमा डोरीले बुनेर काम्रो बनाइएको हुन्छ । त्यो काम्रोलाई पिङको लट्ठामा सन्तुलित तरिकाले घुसारेर राखिन्छ ।

कतिपय स्थानमा पिङ थाप्ने बेलामा दुर्घटना नहोस् भनेर चारै सुरमा पूजा गर्ने प्रचलनसमेत छ । डा. टण्डनका अनुसार दशैँको सप्तमीको दिनदेखि पिङ हाल्न सुरु गरिन्छ । कतै टीकाको भोलिपल्ट त कतै पूर्णिमाको भोलिपल्ट पिङ निकालिन्छ र त्यही पिङ कागतिहारदेखि हाल्ने चलनसमेत छ ।

लिङ्गे वा लट्ठे पिङ एकल वा युगल खेलिन्छ । त्यसो त रोटे पिङको पिर्कामा समेत एकल वा युगल बसेर खेल्ने गरिन्छ । यद्यपि, लिङ्गे पिङमा युगल बनेर खेल्ने कार्यलाई दोहोरीसमेत भनिन्छ । दोहोरी खेल्दा पिङ मच्चाउन सजिलो हुन्छ । एक जनालाई थकाइ लागेमा अर्कोले मच्चाउने सुविधासमेत दोहोरीमा हुन्छ । यसरी दोहोरी पिङ खेल्दा मिल्ने साथीसँग मायाप्रेम दर्शाउँदै खेल्ने गरिन्छ । गाउँघरमा पिङ खेल्ने ठाउँमा खासगरी महिला, बालबालिका र तरुनातरुनीको जमघट विशेष हुन्छ । यो एउटा मायाप्रेमको भावनात्मक सम्बन्ध विस्तारको माध्यमसमेत बन्ने गरेको छ ।

गाउँ घुमेर पिङ चाख्ने
पद्मकन्या कलेजमा प्राध्यापनपछि अवकाश जीवन बिताइरहनुभएकी दुम्जाकी बिन्दु कोइराला छ दशकअघिको दशैँ–तिहारको चित्र अझै झलझली सम्झनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दशैँ–तिहार भन्नेबित्तिकै नयाँ लुगा लगाउने रहर एकातिर उधुम नै हुन्थ्यो भने अर्कातिर नयाँ कपडाबाट आउने हरर्र बास्ना पनि बिर्सिनसक्नु नै बन्दथ्यो ।”

समालोचक कोइराला दशैँका बेला गाउँगाउँ घुमेर सुँगुर काटेको हेर्दै, मालश्री सुन्दै पिङ खेलेको सम्झना यसरी गर्नुहुन्छ, “चारघरे, आधाबाटे, अर्चले, पीपलडाँडा, पानीपोखरी, माथिल्लो थोकका वरपीपलवृक्ष, त्यस समयमा कुलकुलाउँदा थिए, जसमा पिङ झुन्ड्याइन्थ्यो । ती सबै ठाउँमा पिङ खेल्न पुग्नै पथ्र्याे, नत्र भने खाएकै पनि नपच्लाजस्तो लाग्थ्यो । हातमा ठेला उठ्ने गरी पिङ खेलिन्थ्यो ।”

बाल्यकालमा पिङ खेल्दाको लुछाचुँडी अझै बढी रोचक र चाखपूर्ण बन्दथ्यो । झगडा गर्न असमर्थले त खेल्ने पालो नै पाउँदैन थियो रे । उहाँ सम्झनुहुन्छ, “आपूmले जितेर पिङको काम्रोमा पाइला राखेपछि फुर्ती नै अर्को हुन्थ्यो । पिङको दोहोरी खेल्ने क्रममा म मनेलाई (बाल्यकालको साथी) नै रोज्थेँ । किनकि आफूभन्दा जेठी मनेसँग उभिँदा पिङ मच्चाउन आफ्नो बल खर्च गर्न पर्दैनथ्यो । पिङ मच्चाएर पीपलको पात टिपेर झार्दा ठूलै खेल जितेको अनुभूति हुन्थ्यो ।”

पिङ जोगाउन पहल
कतिपय गाउँ तथा शहरका जागरुक युवा पिङ जोगाउन सक्रियसमेत छन् । स्याङ्जा रामकोटका युवा हुन् या तारकेश्वर वा सिन्धुलीका; संस्कृति जोगाउनकै लागि भए पनि पिङ थाप्ने काममा लागेका छन् । सङ्कटमा परेको पिङ संस्कृतिको संरक्षणमा कतिपय गाउँका युवा क्लबहरू सक्रिय छन् । विशेषगरी मगर, गुरुङ समुदायको घना बस्तीतिर पिङ जोगाउने संस्कृतिले पुनर्जागरण ल्याएको पाइन्छ । सिक्किम र दार्जिलिङका नेपालीभाषी बस्तीमा पिङ जोगाउने लहर नै चलेको छ । सशस्त्र प्रहरी र नेपाली सेनाले विभिन्न जिल्ला सदरमुकाम र शहरमा लिङ्गे पिङ राख्ने गरेको पाइन्छ । यद्यपि, कोरोना भाइरसका कारण यस वर्ष मानिसको जमघट हुने स्थानमा पिङ राखिन्न होला । सरकारले समेत सार्वजनिक स्थानमा जमघट र आवतजावतलाई प्रोत्साहित नगर्न अनुरोध गरेको छ ।

मिथिलामा झिँझिया
चाडपर्वका बेला मिथिला क्षेत्रमा झिँझिया नाच्ने नचाउने संस्कृति छ । दशैँका बेला दुर्गा थापना गर्ने र महिलाले घरआँगनमा झिँझिया नाच्ने गरेको मिथिला कलाकार सुनैना ठाकुर बताउनुहुन्छ । प्वाल परेको घैलाभित्र दियो बालेर त्यसलाई महिलाले शिरमा राखी बाजा र गीतको तालमा झिँझिया नाचिन्छ । संस्कृतिविद् रामभरोस कापडीका अनुसार मिथिला क्षेत्रमा परम्परागत रूपमा दशैँको समयमा महिलाले झिँझिया नाच्ने गरेका भए पनि परम्परागत झिँझिया नृत्य लोप हुने अवस्थामा पुगेको छ । झिँझियामा खासगरी देवीको स्तुति र बालबालिकाको सुरक्षाको कामनासहित नाच प्रस्तुत गरिन्छ ।

 

तराई मधेसमा पिङ संस्कृति नरहे पनि पहाडी समुदायको बसोबास रहेका स्थानमा पिङ थाप्ने गरिएको संस्कृतिविद् कापडी बताउनुहुन्छ । खासगरी पहाड, भित्री मधेस र पहाडी समुदायको बसोबास रहेको ठाउँमा पिङ थापिएको पाइन्छ । यद्यपि, पश्चिमका थारूबहुल क्षेत्रमा चाहिँ परम्परागत रूपमै पिङ थापिने गरिएको साहित्यकार एवं सञ्चारकर्मी लक्की चौधरी बताउनुहुन्छ । उहाँका अनुसार रोटे पिङलाई थारूहरू हिरोल्ना भन्छन् । हिरोल्ना खेल्ने बेलामा सामूहिक रूपमा गीत गाउँदै रमाइलो गर्ने थारू समुदायको पुरानो संस्कृति हो । संस्कृतिविद् डा. टण्डनका अनुसार जहाँ बाँस पाइन्छ त्यहाँ पिङ संस्कृति छ । खासगरी पहाड, भित्री मधेसमा पिङ संस्कृतिले व्यापकता पाएको छ ।

पिङ पर्यटन
चाडपर्व विशेष पिङ संस्कृतिले पर्यटन ‘प्रडक्ट’को रूपमा पनि महŒव पाउँदै गएको छ । प्रविधिको विकाससँगसँगै स्वचालित पिङका विविध स्वरूप विकास गरिएका छन् । मेला, महोत्सव र रमाइला पार्कहरूमा स्वचालित र परिवर्तित स्वरूपका पिङ देख्न पाइन्छ । उही रोटे, जाँते र लिङ्गे पिङकै परिवर्तित स्वरूपमा । कुश्मामा गुलेली शैलीको लट्ठे पिङ सञ्चालनमा ल्याइएको छ यद्यपि यो पिङमा उभिएर मच्चाउन पाइन्न । पिङमा बाँधिएर बस्ने हो, मेसिनले पछाडिबाट तानेर छाड्ने हो । द क्लिफ प्रालिले सञ्चालन गरेको रिसोर्ट परिसरमा पिङ राखिएको छ । कालीगण्डकी नदीको खोँचमा निर्माण गरिएको कुश्मा (पर्वत) र बलेवा (बागलुङ) जोड्ने पुलमा लचकदार लट्ठाको सहायताले खेलाइने बन्जीसमेत राख्ने तयारी छ । पिङ मच्चाउँदा २२८ मिटर उचाइमा रहेको पुलभन्दा माथि पुगिन्छ । नदीबाट २४८ मिटर उचाइमा पिङ मच्चाएर मजा लिन सकिन्छ । १२ मिटर लामो पिङ गुलेली तानेजसरी मेसिनले तानेर छाड्छ । द क्लिफका अध्यक्ष राजु कार्कीले नेपालको मौलिक संस्कृतिका रूपमा रहेको पिङलाई गुणस्तरीय डोरी र दक्ष प्राविधिकको डिजाइनमा तयार पारिएको बताउनुभयो ।

चङ्गाविहीन आकाश
विगतका वर्षहरूमा यति बेला काठमाडौँलगायत शहरका आकाशमा चङ्गाको राज्य हुन्थ्यो । आकाशमा चङ्गाले उडान भर्न थालेपछि दशैँ नजिकिएको अनुभव सबैले गर्थे । अनि सुरु हुन्थ्यो दशैँ किनमेलको चटारो । शहरका आकाशमा हल्का चिसो सिरसिरे हावा चल्न थालेपछि रङ्गीविरङ्गी चङ्गाको चहलपहल उल्कै बढ्थ्यो । लखनौ चङ्गा, चङ्गाका नाम पनि कतिकति ? बुट्टे, धर्के, टाउके, पानबुट्टे, सुरतबुट्टे, सुर्के, इँटाबुट्टे, तीन धर्के, दुई धर्के, पुच्छरे, बाबाच्चे । शहरमा चङ्गा र लट्टाईको व्यापार चम्कन्थ्यो । इतिहासकार तथा संस्कृतिविद् डा. गोविन्द टण्डन बितेका बाल्यकाल सम्झनुहुन्छ, “चुँडिएका चङ्गा घरका छतछतमै खसेका भेटिन्थे । खै, आजकल त आकाशमा चङ्गा देखिन्न ।”
डा. टण्डनसँग बाल्यकालको चङ्गा लडाइँको सम्झना ताजै छ । उहाँ भन्नुहुन्छ, “धागोमा माजा लगाउन, चङ्गाको कका हाल्न र उडाउन पोख्त नै थिएँ । बाजी थापेर चङ्गा लडाइन्थ्यो ।”
डा. टण्डनले सुनाउनुभयो, “नेपाली चङ्गाबारे तिब्बतमा रमाइला कथा रहेछन् । तिब्बतका बस्तीतिर धागो चुँडिएको चङ्गा झर्न थालेपछि उनीहरू भन्थे रे, नेपालमा दशैँ सुरु भएछ ।” खासगरी बालबालिका आकर्षित हुने चङ्गा उडानमा युवा पुस्तासमेत उत्तिकै झुम्मिन्थे । काठमाडौँमा पर्यटन प्रवद्र्धनकै हिसाबले चङ्गा उडान प्रतियोगिता हुन्थे । डा. टण्डनका अनुसार २०२६÷२७ सालतिर लखनौ चङ्गा काठमाडौँ भित्रिन थालेपछि नेपाली कागजले बनेका चङ्गा विस्थापित हुन पुगेका थिए । लखनौबाट ल्याइने चङ्गा हल्का हुनाले गज्जबले उडान भथ्र्यो तर नेपाली कागजको चङ्गा गह्रुँगो हुने भएकाले चङ्गाले टाढाको उडान भर्न सक्थेन ।
नेपालमा चङ्गा उडाउने आफ्नैखाले मौसम थियो । जहिले पायो त्यो बेला उडाउँदैनथे । डा. टण्डनका अनुसार सोह्रश्राद्ध अर्थात् भदौदेखि कात्तिकसम्म मात्र चङ्गा उडाउने चलन थियो । चङ्गा जहिलो पायो तहिले उडायो भने वर्षा भाग्छ, पानी पर्दैन भन्ने जनविश्वास थियो ।
यति बेलाचाहिँ आकाशमा चङ्गा उडेको देख्नु आश्चर्य भइसकेको छ । डा. टण्डन भन्नुहुन्छ, “चङ्गा उडाउने चलन नै करिब करिब हरायो । चङ्गा उडाउने पुस्ताको हातमा यति बेला मोबाइल छ । रिमोट छ, ग्याजेट छ । त्यो पुस्ता कोठाभित्रै अलमलिएको छ ।”

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

दाङमा पनि राजतन्त्र माग्दै निस्कियो विशाल जुलुस

दाङ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै दाङमा राजसंस्था पक्षधरले दाङमा विशाल जुलुस निकालेका छन् । बिहीवार दाङको घोराहीमा उल्लेख्य मानिसको उपस्थतिमा नागरिक समाज तथा...

त्रिभुवन विश्वविद्यालयमा भौतिक उपस्थितिमा पढाइ हुने, स्थगित परीक्षा मंसिर २८ गतेदेखि

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा नै नियमित कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिएको...

पानी तान्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

काठमाडौं, मंसिर १८ पर्सामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बहुदरमाई नगरपालिका-६ गमरिया बस्ने २५ वर्षीय दिनेश साहको करेन्ट लागेर बुधबार राति मृत्यु भएको...

सम्बन्धित शीर्षक

  •  
  •  
  •