‘न ज्वरो आउँदा अस्पताल गइन्, न बसिन् क्वारेन्टाइनमा’

‘न ज्वरो आउँदा अस्पताल गइन्, न बसिन् क्वारेन्टाइनमा’

‘सुरुदेखि नै क्वारेन्टाइनमा नबसेर बजार, गाउँ डुलिरहेकाले अहिले बागलुङ पुरै आतंकित

काठमाडौं, चैत १५

नेपालमा भेटिएकी पाँचौं कोरोना संक्रमित बागलुङ नगरपालिका ४, कुँडुलेकी १९ वर्षीया युवती चैत ४ मा नेपाल आएकी थिइन् ।बेल्जियममा रहेका आमाबुबालाई भेट्न करिब दुई महिना अघि युरोप पुगेकी थिइन् ।

बाबु करिब एक महिना पहिले घरमा फर्किए, जहाँ युवतीका हजुरबा र आमा छन् । उनी पनि कतार ट्रान्जिट बनाउँदै कतार एयरवेजको विमानबाट ४ चैतमा काठमाडौं आइन् । त्यही दिन विमानबाट पोखरा र त्यहाँबाट माइक्रोबस चढेर घरमै पुगेकी थिइन् ।

घरमा पुगेपछि ७ चैतमा हल्का ज्वरो आयो । खोकी पनि लागेको थियो । १० गते फेरि ज्वरो आयो । तर, न उनी अस्पताल गइन्, न चिकित्सकलाई नै खबर गरिन् । बरु सरकारले होम क्वारेन्टाइन अनिवार्य भनेको भएपनि उनी भेटघाट र हिँडडुल गर्ने गरेको पाइएको छ । बागलुङ नगरपालिका मेयर जनक पौडेल भन्छन्, ‘उनी सुरुदेखि नै क्वारेन्टाइनमा नबसेर बजार, गाउँ डुलिरहेकाले अहिले बागलुङ पुरै आतंकित छ ।’

१० चैतमा कतार एयरवेजको त्यही फ्लाइटमा आएकी काठमाडौंकी १९ वर्षीया युवतीलाई कोरोना संक्रमणको पुष्टिभएपछि अरु यात्रुको खोजी गर्ने क्रममा सरकारी अधिकारीहरुले उनलाई सम्पर्क गरेका थिए ।

‘त्यतिबेला उनलाई सामान्य रुघाखोकी लागेको थियो’, धौलागिरि अञ्चल अस्पताल, बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले भने, ‘जटिल लक्षण नदेखिए पनि जोखिमको आधारमा ११ गते स्याम्पल लिएर पोखरा हुँदै काठमाडौंमा पठाएका थियौं ।’

थ्रोट स्वाब लिएपछि उनी अस्पताल बसिनन्, घरमा क्वारेन्टाइनमा बस्न थालिन् । घरका अन्य सदस्य पनि त्यतिबेलादेखि क्वारेन्टाइनमा बसेका थिए ।

उनलाई संक्रमण भएको पुष्टि भएपछि अब उपचारको प्रवन्ध कसरी मिलाउने भन्ने छलफल भइरहेको छ । ‘काठमाडौं लैजाने नलैजानेबारे प्रदेश स्वास्थ्य निर्देशनालयसँग छलफल भइरहेको डा. विकले जानकारी दिए । ‘अहिले उनको अवस्था सामान्य छ, तर के गर्ने भनेर प्रदेशसँग छलफल गरिरहेका छौं । पीपीई पनि माग गरेका छौं’ उनले भने ।

यसअघि अस्पतालले कोरोना संक्रमणको आशंकामा एक जनाको नमुना संकलन गरेको थियो । अस्पतालकै आइसोलेसनमा राखिएको उनको चार दिनपछि रिपोर्ट नेगेटिभ आयो र उनी घरमा फर्किसकेका छन् । ‘त्यतिबेला अस्पतालसँग पीपीई पनि थियो र हामीले उनलाई पूर्ण सतर्कताका साथ आइसोलेसनमा राखेका थियौं’, डा. विकले भने ।

कोरोना संक्रमण देखिएकी युवतीका बावुको बयान:

म १८ वर्षदेखि युरोपमा बस्दै आएको छु । मेरी श्रीमती, एक छोरा र एक छोरी पनि बेल्जियममै बस्छन् । जेठी छोरी भने पहिलेदेखि नै नेपालमा बस्दै आएकी छिन् । ११ कक्षा पढ्दै गरेकी उनीलाई केही समय पहिला हामीले नै बेल्जियम घुम्न बोलाएका थियौं । तर कारणवश म १२ फागुनमै नेपाल आउनुपर्‍यो ।

उनी साढे दुई महिना बसेर ४ चैतमा नेपाल फर्किइन् । काठमाडौं झरेपछि उनी प्लेनमा पोखरासम्म आइन र पोखराबाट जीपमा बागलुङ आइपुगिन् । सकुशल घर आइपुगेकोमा घरका सबै खुशी थियौं । घरमा बुवा आमा र म थियौं । भेट्न भान्जाभान्जी पनि आएका थिए ।

घरमा आउँदा छोरीमा कुनै शारीरिक समस्या देखिएको थिएन । एक दिन बेलुकीपख सामान्य ज्वारो आयो । सिटामोल खान दिएपछि अर्को दिन निको भयो । तर १० चैतमा एउटा सनसनीपूर्ण खबर आयो कि फ्रान्सबाट कतार हुँदै आएकी एक जना युवतीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखियो । त्यतिबेलासम्म कोरोनाबारे हामीमा कुनै शंका लागेको थिएन । त्यसपछि मनमा शंका लाग्यो, छोरी पनि कतारलाई नै ट्रन्जिट बनाएर आएकी थिइन् । कतै संक्रमित चढेको विमानमै त थिइनन् छोरी !

अर्को दिन धौलागिरि अस्पताल, बागलुङबाट फोन आयो । मेरी छोरी र कोरोना संक्रमित चढेको विमान एउटै परेछ–कतार एयरको क्यूआर ७५२ । त्यसपछि अस्पतालबाट स्वास्थ्यकर्मीको टिम आएर थ्रोट स्वाब लिएर जानुभयो ।

त्यसपछि हामीले छोरीलाई छुट्टै कोठामा राख्न थाल्यौं । डाक्टरको सल्लाहअनुसार दूरी मेन्टेन गर्‍यौं । उनलाई टाढैबाट खाना राखिदिन्थ्यौं । उनले खाना खाएको जुठो भाँडा पनि ढेढ घण्टापछि माझ्थ्यौँ । भाँडा माझेपछि साबुनपानीले हात धुन्थ्यौं । छोरीलाई नियमित तातोपानी र कागती पानी दिइराखेका थियौं । स्वास्थ्यमा कुनै समस्या देखिएको थिएन । कहिलेकाहीँ खोक्थिन्, तर त्यसरी त हामी पनि खोकिराख्छौं ।

तर, आज छोरीको पनि कोरोनाको रिपोर्ट पोजटिभ आएछ । छोरीलाई कसरी क कोरोना संक्रमण भयो ? म अत्तालिएँ । छोरीले पनि समाचारहरुबाटै आफूलाई कोरोना संक्रमण भएको थाहा पाइन् । त्यो खवर सुनेर निकैबेर रोइन् । मैले ‘नेपालमा कोरोना लागेको विरामी निको भएर डिस्चार्ज भएका छन् । आत्तिनु पर्दैन । सबै कुरा ठिक हुन्छ’ भनेर हौसला दिने प्रयास गरेँ । तर पनि उनी निकै चिन्तित देखिन्छिन् । अहिलेसम्म मसँग केही बोलेकी छैनिन् । अरुसँग पनि बोलेकी छैनन् ।

अहिले घरमा छोरीसहित हामी आठ जना छौँ । भान्जाभान्जी पनि हामीसँगै छन् । हामीले सतर्कता अपनाएका छौं । मेयर, डाक्टर सा’बहरुले फोन गर्नुभएको छ । उहाँहरुले ‘नआत्तिनुस् । केही जटिल लक्षण देखियो भने तुरुन्त सम्पर्क गर्नुहोला । हामी आइहाल्छौँ’ भन्नुभएको छ । आफन्तहरु पनि फोन गरेर हौसला दिइरहनुभएको छ ।

  •  
  •  
  •  

2 COMMENTS

  1. नमस्कार
    Haami कोरोना patient lai niko बनाउन sakxao 100% tyo pani medicine nakhai किन tyo pani निषुल्क।
    यो कुनै जोक होइन काम hernu प्रमाण दिनु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मन्त्रिपरिषद् बैठक सुरु, यस्ता छन् एजेन्डा

काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। सो बैठकमा प्राविधिकतर्फको सचिव बढुवाको कार्यसूची रहेको बताइएको छ। सचिव बुढुवाका लागि सिफारिस भएका...

दाङमा पनि राजतन्त्र माग्दै निस्कियो विशाल जुलुस

दाङ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै दाङमा राजसंस्था पक्षधरले दाङमा विशाल जुलुस निकालेका छन् । बिहीवार दाङको घोराहीमा उल्लेख्य मानिसको उपस्थतिमा नागरिक समाज तथा...

त्रिभुवन विश्वविद्यालयमा भौतिक उपस्थितिमा पढाइ हुने, स्थगित परीक्षा मंसिर २८ गतेदेखि

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा नै नियमित कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिएको...

सम्बन्धित शीर्षक

  •  
  •  
  •